
पर्सा । औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै लामखुट्टेले सताउन थालेको हो ।
गर्मीको शुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले बिहान र बेलुका अझ सास्ती हुने गरेको स्थानियबासिन्दा बताउँछन् । वीरगञ्ज महानगर क्षेत्रको भित्री सडकमा फोहरमैला थुप्रिने गरेको छ ।
वीरगञ्ज महानगर–६ मिनाबजारमा व्यापार गर्दै आएका परशुराम तेलीले लामखुट्टेले टोक्न थालेको तर महानगरले लामखुट्टे नियन्त्रणका उपाय अपनाउन बेवास्ता गर्ने गरेको बताए। वीरगञ्ज महानगर–४ बिर्ताका राकेश झा पनि लामखुट्टे आतङ्क नै भएको गुनासो गर्छन् ।
वीरगञ्ज मच्छडगञ्ज भइसक्दा पनि रोकथाममा ध्यान नपुग्दा डेङ्गीको जोखिम बढेको उहाँको भनाइ छ । वीरगञ्ज महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले आजदेखि सवै वडामा कार्यतालिका बनाएर लामखुट्टेको लार्भा मार्ने अभियान शुरु गर्न लागेको जानकारी दिए। अभियानलाई चैत २४ गतेसम्म निरन्तरता दिने उनको भनाइ छ ।