२०८१ चैत ३, आइतवार , ०७:३८:३३ बजे

Sajhamanch
'

चिया तथा कफी श्रमिक आदिवासी मजदुरलाई क्षमता अभिवृद्धि संगोष्ठी

आइतवार, चैत ३, २०८१

मेचीनगर । किसान आदिवासी उत्थान समिति मेचीनगर ९ ले चिया बगानमा कार्यरत आदिवासीहरूको क्षमता अभिवृद्धि गर्न दुई दिवसीय संगोष्ठी कार्यक्रम सञ्चालन गरेको छ ।

समितिले मेचीनगर–८ स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मादल बजाएर संगोष्ठीको उद्घाटन गरेपछि मन्तब्य राख्दै आफ्नो संस्कृति र पहिचान जोगाउन गलत खानपान र जीवनशैली परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

‘हजुरबुबादेखि नातिसम्म चिया बगानमा नै बित्छ’ बुढाथोकीले भने ‘चेतना अभिवृद्वि गर्नुपर्छ । सादरी भाषामा पर्ने सबै जातिहरु एक भएर कार्यक्रम लिएर आए त्यसका लागि नगरपालिकाले सहयोग गर्नेछ ।’

‘यहाँका किसान जातिहरुले पहिला–पहिला काँकरभिट्टा र धुलाबारीमा जग्गा नाप्नु पर्यो भने साङ्ला र भाटाले नाप्ने गरेको सम्झना ताजै छ’ नगरप्रमुख बुढाथोकीले भने, ‘यो समुदायले गिठ्ठा, भ्याकुर र खरायो खोजेर जीविका चलाउने गरेको पनि बिर्सिएको छैन । यसैले किसान समुदायको संरक्षणका लागि नगरपालिका सकारात्मक छ ।’

कार्यक्रममा चिया तथा कफी श्रमिक युनियन नेपालका अध्यक्ष सन्तकुमार राई, महासचिव विक्रम गिरी, युनियनका टोक्ला ईकाई संघका अध्यक्ष डम्बर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संगोष्ठीमा मुण्डा, खडिया, उराउ, किसान, ग्वाल, कँवर, करुवा, सन्थाल, मालपाढे र रौँटिया लगायत जातिका ८० जना सहभागीलाई एशियाली आदिवासीहरुको एक्यबद्वता कोषका सदस्य वेचन उराउ र किरण बरामले प्रशिक्षण दिइरहेका छन् ।

सहभागीलाई आईएलओ १६९, राज्यले श्रमिकको उपचार, बीमा, विषादीको प्रयोग, उपकरण, न्यूनतम ज्याला, नियुक्ति लगायतका विषयमा प्रशिक्षकद्वय उराउ र बरामले सहजीकरण गरेको किसान आदिवासी उत्थान समितिका उपाध्यक्ष भीम किसानले जानकारी दिए । संगोष्ठीको दोस्रो दिन सहभागीलाई फिल्डमा नै अध्ययन तथा अवलोकन गराइने छ ।

आगामी चैत १५ गते नगरपालिकाको सहयोगमा किसानको मौलिक संस्कृति तथा सर्वद्धनका लागि सचेतना कार्यक्रम गरिने पनि उपाध्यक्ष भीम किसानले जानकारी दिए ।

किसान आदिवासी उत्थान समितिका अध्यक्ष चन्द्रकुमार किसानको अध्यक्षतामा सम्पन्न पहिलो दिनको संगोष्ठी आयोजनाको औचित्य माथि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ड)का कोशी प्रदेश सदस्य सीता राईको प्रकाश पारेकी थिइन् ।

कार्यक्रमको सञ्चालन समितिका सदस्य सरिता किसानले गरेकी थिइन् ।

सम्बन्धित खबर