
भद्रपुर । होली तथा चैते दशैँजस्ता चाडपर्व नजिकिँदै गएको बेला झापाको सदरमुकाममा रहेको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको हो ।
हिजो र आज गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका हल्का पेय पदार्थ, अस्वस्थकर रङ मिसाइएको मिठाइ लगायतका खानेकुरा, म्याद गुज्रिएका केही ड्राइफुडहरु फेला परेको अनुगमन समितिका फोकल पर्सन सुशील कर्णले जानकारी दिए । यसपटक किराना पसल र होटलहरुमा अनुगमन गरिएको थियो ।
भद्रपुरको भाञ्जा खाजा घर, निकिता चिया पसल, मुस्कान स्विट्स एण्ड फुड, ओम जगदीश हरेगंगा किराना पसल, मनिषा किराना पसल, तिम्सिना स्टोर्स, होम ट्रेडर्स, स्वरोजगार स्टोर, ध्रुव किराना पसल, विशाल किराना पसल, अन्नपूर्ण भण्डार, निलम उद्यम, अंकिता खाजा घर, चन्द्रगढीको ज्योति होटल, पब्लिक स. एण्ड इ., हाम्रो किराना पसल, बाबा मिष्ठान्न भण्डार, मनिको होटल, लक्ष्मी मिष्ठान्न भण्डार, अमृता होटल, कञ्चन किराना पसल, मैनाली होटल, न्यौपाने स्टोर्स र बिराज भेराइटिज, प्रसाईं फ्रुट एण्ड भेराइटिज, सुवेदी पान पसलमा अनुगमन गरिएको कर्णले जानकारी दिए ।
बजारमा अझै पनि म्याद गुज्रिएका, उत्पादन र उपभोग्य मिति नलेखिएका, सामग्री बिक्री–वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको उपप्रमुख कार्कीले बताइन् ।
यसअघि, यसै आर्थिक वर्षमा दशैँ–तिहार लगायतका चाडपर्वको सम्मुखमा बजार अनुगमन गरिएको थियो । त्यो अनुगमनबाट बजारमा केही सुधार आएको पाइएको बताउँदै अनुगमन समितिका संयोजक कार्कीले अनुगमनलाई निरन्तरता दिइने बताइन् ।
उनले उपभोक्तालाई पनि सामान किन्दा सचेत हुन आग्रह गरिन् । ‘कम्तीमा आफूले किनेको सामानको उत्पादन र उपभोग्य मिति हेरिदिनोस्, गुणस्तरमा ध्यान दिनोस्, लेबल नभएका सामग्री नकिन्नुहोस्’, कार्कीले भनिन्– ‘तपाई उपभोक्ताले यति गरिदिनु भयो भने पनि बजारमा धेरै सुधार आउनेछ ।’
अनुगमनमा जिल्लास्थित सरोकारवाला अन्य सरकारी निकायका प्रतिनिधिहरुको पनि सहभागिता थियो । जिल्ला प्रशासन कार्यालयबाट अधिकृत सुरेन्द्र बाँस्तोला, घरेलु तथा साना उद्योग कार्यालयबाट राजकुमार दाहाल, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट खाद्य निरीक्षण अधिकारी संगीता शाह, गुणस्तर तथा नापतौल कार्यालयबाट अञ्जिता रेग्मी र कामिन राजवंशी, झापा उद्योग वाणिज्य संघबाट कार्यालय सचिव दुर्गाप्रसाद निरौलालगायतको अनुगमनमा सहभागिता रहेको फोकल पर्सन कर्णले जानकारी दिनुभयो ।
जफत गरिएका सामग्री अनुगमनमा सहभागी प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको छ ।