
मेचीनगर । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहीबार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबमध्येको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए ।
टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।
धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको प्रहार गोल हुँदा सुगम जिमीको प्रहार बाहिरिएको थियो ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा खेल सकिएपछि निर्णयका लागि सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको ३४औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट सिङ्गल खेल्दै पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भयो ।
खेलको ७२औँ मिनेटमा आयोजक काँकरभिट्टाले खेल बराबरी गरेको थियो । विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई पेनाल्टी एरियामा पाएको हेड बललाई हेमन्त लिम्बूले सहजै जाली चुमाएका थिए ।
आजको खेलको प्लेयर अफ द म्याच गोलरक्षक विवस चौधरी भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।