
मेचीनगर । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ ।
टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए । यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आशिषभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाए ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको ६०औँ मिनेटमा व्ल्याक बुल्सले अग्रता लिएको थियो । इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभको हेडर गोलमा परिणत भएको थियो ।
यसैगरी खेलको ८४औँ मिनेटमा धरानले कमव्याक गर्यो । कप्तान मिलन राईको पासमा वैकल्पिक खेलाडी सुगम जिमिले गोल गर्दै खेललाई बराबरीमा ल्याए । जिमीले व्ल्याक बुल्सका ४ जना डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै खेल बराबरीमा ल्याएका थिए ।
खेलको प्लेयर अफ द म्याच धरानका वैकल्पिक गोलरक्षक बिपुल मगर घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । मंगलबारको खेल विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजक क्लबले जनाएको छ ।