
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको १५औं नगरसभा आज सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता ऐनको प्रथम संशोधन विधेयक २०८१ स्वीकृत गरेको हो ।
सो सभालाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले स्थानीय तहको खुम्चिएको अर्थतन्त्रलाई चलायमान बनाएर नगरको समग्र विकासका लागि काम गर्नुपर्ने चुनौति रहेको औंल्याएका छन् । शिवगञ्जमा निर्माण गरिएको नगर अस्पतालन सञ्चालनका लागि प्रयासरत रहेको जनाउँदै उनले प्रदेश सरकार र केन्द्रीय सरकारसँग बजेटका लागि माग गरिएको जानकारी गराए ।
अर्धवार्षिक नगरसभा गर्दैगर्दा पनि प्रदेश सरकार र संघीय सरकारले घोषणा गरेको अनुदान रकम ३० प्रतिशत पनि नगरपालिकामा नआएकाले अझै होसियारी भएर काम गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख थोप्राको भनाई थियो ।
नगरसभामा उपप्रमुख नगरमाया कार्कीले २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटको समीक्षा र बजेट संशोधनसहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा पर्यटन विकास, समावेशीकरण, सुशासन र गरिवी निवारणलाई प्राथमिकतामा राखी ल्याएइएको योजना बजेट कार्यान्वयनमा चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा हेर्दा सकारात्मक दिशातर्फ अघि बढेको बताइन् ।
चालु आर्थिक वर्षको पौष मसान्तसम्मा कार्यालयको संचित कोषबाट कूल ४८ करोड १५ लाख ८७ हजार ९४० रुपैयाँ प्राप्त भएको नगर उपप्रमुख कार्कीले बताइन् । चालु आर्थिक वर्षका लागि कूल विनियोजित बजेट ९७ करोड ६२ लाख ५२ हजार १३ रुपैयाँ मध्येबाट चालु खर्चतर्फ ६२ करोड १७ लाख १६ हजार ७६५ रुपैयाँ र पुँजीगत खर्चतर्फ ३५ करोड ४५ लाख ३५ हजार २४८ विनियोजित गरेको थियो ।
जसमध्ये पौष मसान्तसम्ममा चालुतर्फ २२ करोड ३५ लाख ४४ हजार २१९ रुपैयाँ र पुँजीगत ३ करोड ९० लाख ६७ हजार ५०० खर्च भएको नगर उपप्रमुख कार्कीले जानकारी दिइन् । जुन चालुतर्फ विनियोजित बजेटको ३५ दशमलव ९६ प्रतिशत हो भने तथा पँुजीगततर्फ विनियोजित बेटको ११ दशमलव २ प्रतिशत हुन आउँछ । कूल विनियोजित बजेटको २६ दशमलव ९० प्रतिशत मात्र खर्च भएको छ ।
नगर सभाले २०८१/०८२ का लागि सञ्चालन गरेका सुन्दर सहर उज्यालो नगर कार्यक्रम अन्तर्गतका योजनाहरु अनुमोदन गरेको छ । कार्यापालिकाबाट निर्णय भएर सञ्चालन भएका संघ-संस्था, क्लब, प्रतिष्ठान, भाषा संस्कृति संरक्षण लागि गरिएका कार्यक्रमहरु, भौतिक पूर्वाधार मर्मत सम्भार लगायत नगरको तर्फबाट सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रमहरुको नगरसभाले अनुमोदन गरेको छ ।
नगरसभाले नगरका ११ वटै वडाहरुबाट पेश गरिएका संशोधित ३४ वटा योजनाहरु अनुमोदन गरेको छ । त्यस्तै नगरपालिका स्तरीय १७ योजनाहरुलाई आवश्यकताको आधारमा रकमान्तर गरिएकोले सोसमेत नगर सभाले अनुमोदन गरेको छ ।
नगरप्रमुख मेगाहाङ्ग थोप्राको अध्यक्षतामा भएको नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङफेले गरेकी थिइन् ।