
मोरङ । विराटनगरमा वडा सदस्यले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को. २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा यही फागुन ११ गते राति ९ः२० बजेतिर ठोक्किएको थियो । अनुसन्धानबाट लामिछानेले मापसे गरेर स्कुटर चलाएको पत्ता लागेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।
होटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र स्कुटरको पछाडि सवार विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । तिवारीको उपचारकै क्रममा आइतबार बिहान ६स्३५ बजेतिर मृत्यु भएको डीएसपी जोशीले बताए । स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा उनले मापसे गरेर स्कुटर चलाएको यकिन भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार स्कुटर, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।