२०८१ फागुन १४, बुधवार , १२:३९:०८ बजे

Sajhamanch
'

बिर्ताबजारको ऐतिहासिक शिवालय मन्दिर घेराबन्दीमा

बुधवार, फागुन १४, २०८१

झापा । बिर्तामोड– ३ बिर्ताबजारमा रहेको पुरातात्त्विक महत्वको ऐतिहासिक शिवालय मन्दिर तीन वर्षदेखि घेराबन्दीमा परेको छ । धार्मिक आस्थाको धरोहर शिवालय मन्दिरको जग्गा अतिक्रमण भएपछि मन्दिर नै मासिने अवस्थामा पुगेको हो ।

सुरुदेखि नै सो मन्दिरमाथि आक्रमण हुँदै आएको छ । मन्दिरलाई सतानुसिंह राजवंशीको परिवारले करिब डेढ विगाह जग्गा दान दिएका थिए । त्यस जग्गामा महेन्द्र रत्न माविले विद्यालय भवन बनाएको थियो ।

त्यसपछि शिवालयकै करिब अठार कट्ठामा अनारमनी पब्लिक क्याम्पस स्थापना भयो । त्यसपछि बाँकी रहेको मन्दिर परिसरको करिब ५ कट्ठा जग्गामा समेत तीन वर्षअघि ४५ वटा टहरा निर्माण गरिएका छन् ।

टहरा निर्माण गरी मन्दिरलाई चारैतिरबाट घेराबन्दीमा पारिएको हो । बिर्ताबजारमा कम्प्लेक्स निर्माण हुन थालेपछि त्यहाँ रहेका व्यवसायीहरूलाई मन्दिर परिसरमा टहरा निर्माण गर्न दिइएको थियो ।

कम्प्लेक्स निर्माण सम्पन्न भएको ६ महिना भइसकेको छ । तर, त्यहाँका व्यवसायीहरू सर्न खोजिरहेका छैनन् ।शिवालयको जग्गामा भाडा तिर्नु नपरिरहेकाले उनीहरू भाडाको कम्प्लेक्समा सर्न नखोजेका हुन् ।

यसरी मन्दिरको सम्पूर्ण जग्गा मासेर आफूहरूले बनाइदिएको मन्दिरको समेत अस्तित्व नै सङ्कटमा पारेपछि दाता परिवारले दुःख व्यक्त गरेका छन् । त्यस मन्दिरमा शिवरात्रिको दिन जल चढाउनेहरूको निकै ठुलो घुइँचो लाग्ने गरेको थियो ।

त्यसको भोलिपल्ट त्यहाँ मेला लाग्ने गरेको थियो । मन्दिरको जग्गा सबै अतिक्रमण भएपछि साँघुरो ठाउँमा जल चढाउन समस्या भएको भक्तालुहरूले बताएका छन् ।

सम्बन्धित खबर