२०८१ फागुन १२, सोमवार , ०३:३६:५१ बजे

Sajhamanch
'

कोठामा हुने ढुसीका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने

सोमवार, फागुन १२, २०८१

काठमाडौं । कोठाभित्र हुने ढुसीले स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओका अनुसार केही ढुसी विषालु हुने भएकाले त्यसले फोक्सोमा असरसँगै क्यान्सरजस्ता दीर्घकालीन गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।

सन् २०२४ मा च्यारिटी आस्मा एन्ड लङ्ग बेलायतले फोक्सोको समस्या भएका ३ हजार ६५२ जना मानिसमा गरेको सर्वेक्षणमा एक चौथाइ बच्चाहरू र झन्डै आधा वयस्कहरूमा ढुसीका कारण हुने दमको समस्या देखिएको थियो । यो समस्या संसारमा धेरै ठाउँमा छ ।

ढुसी एक किसिमको सूक्ष्म जीव हो । यो हावामार्फत फैलन्छ । भित्तामा कालो, सेतो वा हरियो धब्बा देखिनु घरमा ढुसी बढिरहेको सङ्केत हो । यो चिसो ठाउँमा देखिन्छ अनि गन्ध पनि आउँछ ।

एक अध्ययन अनुसार ४७ प्रतिशत घरमा ढुसी देखिन्छ । विस्तृत अध्ययन नभए पनि नेपालमा थुप्रै घरहरूमा ढुसीको समस्या पाइन्छ । ढुसी खास भित्ता, भुँइ वा फर्निचरको पछाडि जस्ता गरी नदेखिने ठाउँहरूमा विकास हुन्छ ।

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनले वर्षा र आद्रता बढाउँदा ढुसीको समस्या अझ धेरै हुने सम्भावना रहने बताएका छन् । ढुसीको समस्याबाट जोगिन जाडो महिनामा पनि दिनमा कम्तीमा ३० मिनेट सबै झ्यालहरू खुला राख्न, शौचालय तथा नुहाउने कोठामा हावा बाहिर फ्याल्ने पङ्खा राख्न र खाना पकाउँदा भान्साको झ्यालहरू खोल्न विज्ञहरूको सुझाव छ ।

सम्बन्धित खबर