
भद्रपुर । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड माथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो ।
आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।
खेलको ४१औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए । झापाका प्रदिप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरे । त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए ।
खेलको ७९औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे । चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर नहुँदा तामाङले टिमलाई २–१ को अवस्थामा ल्याए ।
घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो । खेलको २४औँ मिनेटमा प्रदिप बुढाथोकीको पेनाल्टी एरियाको हेडर चर्चका किपर मोक्तानले नियन्त्रणमा लिए ।
खेलको ३२औँ मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर मोक्तान रोके । पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडेर क्रसबार माथिबाट बाहिरियो ।
खेलको ३७औँ मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको ३१औँ मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए । उनले २१ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए ।
सौर्य एअर ओम साई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।