२०८१ फागुन १०, शनिवार , ०९:३८:५९ बजे

Sajhamanch
'

कोशी प्रदेशका सञ्चार माध्यमहरुको अवस्थाका बारेमा एमालेले अध्ययन गर्ने

बिहिवार, फागुन ८, २०८१

विराटनगर । कोशी प्रदेशको भूगोलमा ठेगाना राखेर सञ्चालनमा रहेका सञ्चार माध्ययमहरुको अवस्थाको अध्ययन र आवश्यक सुधारका लागि नेकपा (एमाले)ले समिति गठन गरेको छ ।

नवगठित समितिले प्रदेशभित्र सेवा प्रवाह गरिरहेका मिडिया हाउसको दिगो विकास र पत्रकारको सुरक्षा तथा व्यवसायिकताका विषयमा सुझाव पेश गर्ने जनाइएको छ ।

बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले विभागका प्रमुख लक्ष्मण तिवारी संयोजकत्वमा उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा सदस्यहरु मोहनकाजी न्यौपाने र सुमन पुरी रहेको पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो ।

कोशी प्रदेशका १४ वटा जिल्ला प्रशासन कार्यालयमा ५२९ वटा पत्रपत्रिकाहरु दर्ता भएको सो बैठकमा तथ्याङ्क पेस गरिएको थियो । यसैगरी सूचना तथा प्रसारण विभागमा र प्रेस काउन्सील नेपालमा सूचिकृत २१६ डिजिटल न्यूजपोर्टल (अनलाइन) रहेको देखिन्छ । तर तथ्याङ्कमा देखिएका मिडियाको अवस्था र चुनौतिहरु के के छन् र तिनलाई सुधारका लागि के गर्न सकिन्छ भन्ने विषयमा कार्यदलले् अध्ययन गर्नेछ ।

साथै ती सञ्चार माध्ययमहरुमा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था र भविष्यका बारेमा अध्ययन गरी प्रदेश सरकारका तर्फबाट गर्न सकिने प्रयासहरुका सम्बन्धमा सुझाव प्रस्तुत गरिने विभागका प्रमुख तिवारीले जानकारी दिए ।

उक्त बैठकमा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले सञ्चार माध्ययमहरुको पछिल्लो अवस्था राम्रो नभएको बताए । तिनको विकासमा पार्टी र प्रदेश सरकारले गर्नुपर्ने दायित्वबाट सरकार र पार्टी पछि हट्न नहुने भनाई राख्दै नेता राईले आफ्नो तर्फबाट मिडिया बचाउन र आवश्यक सुधारको काममा सधैं तयार रहने प्रष्ट पारेका थिए ।

बैठकमा अनलाइन मिडियाको कोशी प्रदेशको वर्तमान अवस्थाका बारेमा विभागका सदस्य सुमन पुरीले र प्रदेशको छापा माध्यमको बारेमा देवेन्द्र कार्कीले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदनहरु उपर छलफल गरिएको थियो ।

बैठकले प्रदेशमा रहेका मिडियाहरु समाज र सिंगो प्रदेशकै साझा सम्पति रहेकाले त्यसको जगेर्नामा पार्टीले विशेष योजना ल्याउने गरी छलफल भएको प्रचार विभागका उपप्रमुख भीमज्वाला राईले जानकारी दिए ।