२०८१ फागुन १, बिहिवार , ११:४५:५६ बजे

Sajhamanch
'

बाल यौन दुर्व्यवहारको उजुरी दिने हदम्याद बढाएर ३ वर्ष पुर्‍याउने प्रस्ताव

बिहिवार, फागुन १, २०८१

काठमाडौं । बालबालिका विरुद्धको हिंसा र यौन दुर्व्यवहारबारे उजुरी दिने हदम्याद बढाएर तीन वर्ष पुर्‍याउने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ ।

प्रचलित ऐन अनुसार हाल बालबालिका विरुद्धको हिंसा र यौन दुर्व्यवहारमा उजुरी दिने हदम्याद एक वर्ष छ । हिंसामा परेपछि तत्काल उजुरी दिन नसके वा उजुरी नदिए बालबालिकाले १८ वर्ष उमेर पूरा भएपछि पनि उजुरी दिन सक्छन् ।

१८ वर्ष उमेर पूरा भएपछि उजुरी दिने हदम्याद हाल एक वर्ष छ । यसलाई पनि बढाएर तीन वर्ष पुर्‍याउने प्रस्ताव नेपाल कानुन आयोगले गरेको हो ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिका सम्बन्धी हिंसाको कसूरको प्रकृतिबारे उल्लेख छ । प्रचलित ऐनकै दफा ७४ मा हिंसाविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था छ ।

प्रचलित ऐनमा कुनै हदम्याद तोकिएकोमा त्यस्तो हदम्याद र हदम्याद नतोकिएकोमा कसूर भएको मितिले एक वर्षभित्र मुद्दा दायर गर्नुपर्ने प्रचलित ऐनको दफा १ मा छ ।

उपदफा २ मा मुद्दा दायर नगरिएको अवस्थामा प्रचलित कानुन जुनसुकै कुरा लेखिएको भएता पनि बालबालिका विरुद्धको कसूरको सम्बन्धमा मुद्दा दायर गर्ने हदम्याद त्यस्तो बालबालिका १८ वर्ष पूरा भएको मितिले एक वर्ष कायम रहने उल्लेख छ ।

यसलाई पनि बढाएर उजुरी दिने हदम्याद तीन वर्ष पुर्‍याउने प्रस्ताव कानुन आयोगको छ ।

यसका लागि कानुन आयोगले यौनजन्य हिंसा विरुद्धको केही नेपाल ऐन संशोधन विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।

कानुन आयोगले गरेको विधेयकको मस्यौदा अनुसार ऐन बने बालबालिका विरुद्धको कसूरमा उजुरी दिने हदम्याद त्यस्तो बालबालिका १८ वर्ष उमेर पूरा भएको मितिले तीन वर्ष पुग्नेछ ।

बालबालिका विरुद्धका कसूर के के हुन ?

प्रचलित ऐनको परिच्छेद ८ मा बालबालिका विरुद्धको कसूरसम्बन्धी व्यवस्था छ । दफा ६६ मा हिंसा वा यौन दुर्व्यवहार हुने कार्य गरेमा बालबालिका विरुद्ध कसूर गरेको मानिनेछ ।

बालबालिका विरुद्ध हिंसा गरेको मानिने विषयलाई ऐनमा बुँदागत रुपमै राखिएको छ ।

(क) धूमपान, मद्यपान वा जुवा, तास जस्ता कुलतमा संलग्न गराउने,

(ख) बालिगहरूका लागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरञ्जनस्थलमा प्रवेश वा प्रयोग गराउने,

(ग) बालिगहरूका लागि भनी तोकिएका चलचित्र, अन्य श्रव्य दृष्य जस्ता सामग्री देखाउने,

(घ) घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने,

(ङ) शारीरिक चोट पटक वा असर पुन्याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने,

(च) विद्युतीय वा अन्य माध्यम प्रयोग गरी सताउने, कष्ट दिने,

(छ) राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा, हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्ने,

(ज) गैरकानूनी चुना, कैद, कारावास वा नजरबन्दमा राख्ने, नेल, हतकडी लगाउने,

(झ) क्रूर अमानवीय व्यवहार गर्ने वा यातना दिने,

(अ) सनातन, परम्परा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यको लागि बाहेक भिक्षा माग्न लगाउने वा सन्यासी भिक्षु, फकीर वा अन्य कुनै भेष धारण गर्न लगाउने,

(ट) जबरजस्ती अनाथ घोषणा गर्ने वा अनाथको रूपमा दर्ता गराउने,

(ठ) भाकल, धार्मिक वा अन्य कुनै अभिप्रायले कसैको नाउँमा चढाउने वा समर्पण गर्ने वा परम्परा, संस्कृति, रितिरिवाजको नाममा कुनै प्रकारको हिंसा, विभेद, हेलाँ वा बहिष्कार गर्ने वा उपहासको पात्र बनाउने,

(ढ) कसूरजन्य कार्य गर्न सिकाउने, तालीम दिने वा त्यस्तो कार्यमा लगाउने,

(ण) बालबालिकाको विवाह तय गर्ने वा वालवालिकासँग विवाह गर्ने वा गराउने,

(त) प्रचलित कानून विपरीत बालबालिकाको अङ्ग झिक्ने,

(थ) औषधि वा अन्य कुनै परीक्षणको लागि बालबालिकालाई प्रयोग गर्ने,

(द) कानून बमोजिम वाहेक बाल गृहमा राख्ने,

बालबालिका विरुद्ध बाल यौन कार्य गरेको कसूर वा दुव्र्यवहारलाई पनि ऐनमा बुँदागत रुपमै राखिएको छ ।

(क) अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउने वा देखाउन लगाइने वा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने वा वाल अश्विलता प्रदर्शन गर्ने वा गराउने,

(ख) वालवालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्यदृश्य सामग्री वितरण गर्ने, भण्डारण गर्ने वा त्यस्ता सामग्री प्रयोग गर्ने,

(ग) यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने,

(घ) अश्लिल कार्य तया सामग्री निर्माणमा प्रयोग गर्ने,

(ङ) यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने,

(च) कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबलिकालाई प्रयोग गर्ने वा गराउने,

(छ) यौन सन्तुष्टि प्राप्त गर्न वालवालिकालाई प्रयोग गर्ने वा गराउने,

(ज) बाल यौन शोषण गर्ने वा गराउने,

(झ) यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले वालबालिकाको प्रयोग गर्ने वा गराउने,

(ञ) यौन दुव्र्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने,

(ट) वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने ।

सम्बन्धित खबर