२०८१ फागुन १, बिहिवार , १०:२४:३६ बजे

Sajhamanch
'

नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म निःशुल्क परीक्षण शुरू

बिहिवार, फागुन १, २०८१

काठमाडौं । नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानमा ३० वर्षभन्दा माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षभन्दा माथिका छन् ।

पालिकासम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षभन्दा माथिका सबैको निःशुल्क परीक्षण हुने र समयमा उपचार गर्नुपर्ने विषयमा सचेतना अभिवृद्धि गराउन अभियान सञ्चालन गरिने प्रवक्ता बुढाथोकीले बताए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गएको मङ्सिर १६ गते ‘नसर्ने रोगसम्बन्धी एक महिने अभियान सञ्चालन निर्देशिका’ स्वीकृत गरेका थिए।

यही महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको स्क्रिनिङ अभियान पनि सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।