२०८१ फागुन १, बिहिवार , ०८:११:४१ बजे

Sajhamanch
'

भगवती माविको ६२औं वार्षिकोत्सवः अवकाशप्राप्त शिक्षकसहित ६ जना सम्मानित

बिहिवार, फागुन १, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडास्थित श्री भगवती माध्यमिक विद्यालयले बुधबार आफ्नो ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सवकै अवसरमा दुई जना अवकाशप्राप्त समेत ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ ।

विद्यालयमा लामो समय अध्यापन गराई अनिवार्य अवकास भएका नारदमणि न्यौपानेलाई विद्यालयले सम्मान गरेको हो । विद्यालयका प्रधानाध्यापक रमेशकुमार दाहालका अनुसार स्वेच्छिक अवकास लिएका गोरखमान पौडेल, निजी स्रोतबाट अध्यापन गराउने सुष्मा सापकोटा र अञ्जु पौडेललाई पनि सम्मान गरेको छ ।

विद्यालयले शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष मणिप्रसद खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धिप्रसाद लक्समलाई पनि सम्मान गरेको प्रधानाध्यापक दाहालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि झापा निर्वाचन क्षेत्र नं. ४ (ख)का प्रदेश सांसद भक्तिप्रसाद सिटौलाले विद्यालयमा शैक्षिक गुणस्तर र विद्यार्थीहरुको हितमा काम गर्ने हो भने विद्यालयमा गठन गरिएका राजीतिक दल आवद्ध विभिन्न संगठन खारेज गर्नुपर्ने बताए ।

उनले आफूले पनि विद्यार्थीकालमा राजनीति गरेको सम्झदै सांसद सिटौलाले भने, राजनीतिक स्कुलिङबाट आएको व्यक्ति शिक्षक बनिदिँदा कहीँ कहीँ पार्टीको झोला बोकेर विद्यालय छिर्ने र विद्यालयमा राजीति सुरु गर्ने गरेको जिकिर गरे ।

उनले शिक्षकहरुप्रति लक्षित गर्दै भने, विद्यालयमा राजनीति गर्ने हो भने शिक्षाको गुणस्तर बृद्धिका लागि गर्नुहोस् । विद्यालयको भौतिक, आर्थिक विकास लागि गर्नुहोस् । एउटा अबोध बालक शिक्षा पहिलो खुड््किलो विद्यालयमा प्रवेश गर्छ, त्यस्ता विद्यार्थीहरु माथि राजनीति नगर्न नगराउन प्रदेश सांसद सिटौलाले सुझाव दिए ।

वार्षिकोत्सवमा विद्यालयमा विभिन्न दाताहरुले उपलब्ध गराएको छात्रबृत्ति पनि प्रदान गरिएको छ । रोजिन भण्डारी स्मृति शिक्षा प्रोत्सहान पुरस्कारबाट कक्षा ५ र ७ उत्कृष्ट तीन विद्यार्थीलाई जनही ५ हजार १०० रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै टिकाराम खड्का स्मृति अक्षयकोषद्वारा वार्षिकोत्सवमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । बलबहादुर अधिकारी र पवित्रादेवी अधिकारीको स्मृतिमा स्थापित प्रोत्सहान पुरस्कार स्वरुप कक्षा ११ का उत्कृष्ट विद्यार्थीलाई जनही २ हजार ५०० का दरले पुरस्कार प्रदान गरियो ।

त्यसैगरी स्व. पुष्पलाल खतिवडा तथा गंगादेवी खतिवडा शैक्षिक पुरस्कार २०८० सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गरी हाल कक्षा ११ मा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले जातीय भेदभाव र बालविवाह विरुद्ध नाटक मञ्चन गरेका थिए । वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक र विद्यार्थीहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर