![](https://sajhamanch.com/wp-content/uploads/2025/01/arrested_GpdTHDY7qz-1.jpg)
इलाम । इलाम सूर्योदय नगरपालिका– ११ सुन्तले संयुक्त टोलका ५० वर्षीय धनराज राईको हत्या भएको आशङ्कामा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सूर्योदय–११ सुन्तले बस्ने २४ वर्षीय सुमन राई, सोही ठाउँ बस्ने २६ वर्षीय निशान राई , २० वर्षीय राजीव राई,२३ वर्षीय दिवस राई, मृतकका छोरा २९ वर्षीय मंगेश भनिने एडवर्ड राई र उनकी श्रीमती २६ वर्षीया मालती तामाङ राई रहेका छन् ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमान्डमा १० जनाको प्रहरी टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।
घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।घटनास्थलको कानुनी प्रक्रियापश्चात् राईको शवलाई पोस्टमार्टमको लागि फिक्कल अस्पताल पठाइएको छ । हिजो धनराज राई आफ्नै तीन तले घरको भुइँतलामा आफू सुत्ने कोठामा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।