बिर्तामोड । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका टिम झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक बिर्तामोड नगरपालिकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।
आज भएको पहिलो क्वाटर फाइनल खेलमा कनकाई नगरपालिकाका खेलाडी स्वस्तिका बिकले खेलको ५ मिनेट मै गोल गरेर अग्रता दिलाएकी थिइन् । यस्तै, समीक्षा मगरले २०ओँ मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् ।
समिक्षाले गोल गरेको १ मिनेट नबित्दै पूर्णिमा राईले गोल गरेर ३–०ूगोलको अन्तर निकालिन् । खेलको ४३ओँ मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ द म्याच बनिन् ।
भोलि मंगलबार अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।