झापा । अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित भएकी छन्।
अनेम संघ झापाको हिजो शनिबार सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि सर्वसम्मत भएको हो।
कमिटीको उपाध्यक्षमा रेणुका उप्रेती डाँगी र सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं (कोपिला), सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित दाहाल निवर्तमान कमिटीमा सचिव थिइन्, उपाध्यक्ष डाँगी समान पदमा दोहोरिएकी हुन् भने उपाध्यक्ष विक सहसचिवमा रहेर काम गरेकी थिइन् ।
यसैगरी सचिवमा सर्वसम्मत भएकी चम्लागाईं कोषाध्यक्ष थिइन् भने सहसचिवमा निर्वाचित बस्नेतले निवर्तमान कमिटीको सदस्य रहेर काम गरेकी हुन् ।
निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ। कमिटीको सदस्यमा हलबाट ८ जना, पालिका भूगोलबाट ४९ जना, समावेशी क्लस्टरहरुबाट १८ जना निर्वाचित हुनेछन् ।
आज पदाधिकारीहरु सर्वसम्मत चयन भएका र सदस्यहरुको लागि आवश्यक संख्यामा केही थप घट मनोनयन परेकाले अध्यक्ष मण्डलसँगको परामर्शमा निर्णय गरी अन्तिम नामावलीको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालयमा हुने संयोजक कट्टेलको भनाई छ । सोही दिन दिउँसो शपथ ग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय भएको छ।