२०८१ माघ २६, शनिवार , ०९:३२:०३ बजे

Sajhamanch
'

अनेमसंघ झापाका पूर्वअध्यक्षहरु सम्मानित, आइतबार नयाँ नेतृत्व चुनिँदै

शनिवार, माघ २६, २०८१

झापा । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको १०औं जिल्ला सम्मेलनमा यसका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ ।

आज शनिबार बिर्तामोडस्थित अग्रसेन भवनमा सुरु भएको जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अनेमसंघ केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले पूर्वअध्यक्षहरुलाई सम्मानपत्र प्रदान गरिन् ।

सम्मानित हुनेहरुमा टिका बस्नेत, जसमाया गजमेर, पवित्रा निरौला खरेल, मेनुका काफ्ले, शोभा कुँवर, शारदा सापकोटा, विष्णु बराल, सिता बस्नेत, सुमित्रा भण्डारी हुन् ।

महिला मुक्ति आन्दोलनलाई अनेमसंघको माध्यमबाट यहाँसम्म ल्याउन गरेको योगदानलाई उच्च मूल्याङ्कन गर्दै पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको आयोजक कमिटीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अनेमसंघका केन्द्रीय अध्यक्ष हमालले सम्मेलनको उद्घाटन पछि बोल्दै महिलाहरु भोट बैंक मात्र बन्न नहुने बताइन् । महिला मुक्तिको आन्दोलनबाट प्राप्त अधिकार लिनका लागि आव्हान गर्दै त्यसका लागि एकता जरुरी रहेको उनको भनाई छ ।

अध्यक्ष हमालले सबै तहमा एक तिहाई महिलाको अनिवार्य सहभागिता हुनुपर्ने बताउदैं क्षमतावान बन्न सबैलाई आग्रह गरिन् । उनले गत स्थानीय निर्वाचनमा झापाका १३१ वटा वडामा किन कुनै पनि महिलाले वडाध्यक्ष जिलाउन सकिएन भनी जिज्ञासा पनि राखेकी छिन् । महिलालाई उम्मेदवार अरुले बनाइदिने भन्दा पनि आफूले लडेर अधिकार लिन उनको सुझाव छ ।

महिला मुक्ति आन्दोलनको लक्ष्य नभुल्न निर्देशन दिदैं अध्यक्ष हमालले भनिन् ‘लक्ष्य प्राप्त नहुञ्जेलसम्म कसैले पनि थकाई मार्न पाइने छैन ।’

उनले झापामा महिलाहरु क्षमता विकास गर्दै नेतृत्वका लागि तयार हुन आग्रह पनि गरिन् । उपमेयर भएपछि मेयर पाइदैन भन्दै भाग्न हुदैन, उनले भनिन्– मेयरका लागि तयार हुनुपर्छ, भाग्नु हुदैन ।

उद्घाटन कार्यक्रममा अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, अनेमसंघ केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विणादेवी राई, कोशी प्रदेश अध्यक्ष तथा प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राई, मेचीनगर उपप्रमुख मिना उप्रेती, पूर्व अध्यक्ष जसमाया गजमेर, टिका बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

महिलाहरुको अधिकारका निमित्त अनेमंघको भूमिका नै महत्वपूर्ण र प्रभावकारी हुँदै आएको बताउदैं अधिकांश नेतृहरुले प्राप्त उपलब्धीको रक्षा गर्न आग्रह गरेका छन् । महिला सहभागितालाई प्रभावकारी बनाउन क्षमतावान बनाउन सूझाव दिइएको छ ।

जिल्लाभरबाट आयोजक र प्रतिनिधिहरु गरी ३४७ जनाको सहभागितामा आयोजित १०औं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । भोलि आइतवार बिहानबाट बन्दशत्रको कार्यक्रम सञ्चालन हुने सचिव लिला दुंगेल दाहालले जानकारी दिएकी छन् ।

केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले उद्घाटन सत्रपछि बैठक बसेर भोलि सञ्चालन गरिने बन्दसत्रका लागि कार्यतालिका र जिम्मेवारीहरु बाँडफाँड गरेको छ । बन्दशत्रमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।

सम्मेलनबाट ८१ सदस्यीय अनेमसंघ झापाको नयाँ जिल्ला कमिटी चयन गरिनेछ । निर्वाचन सम्पन्न गर्न अधिवक्ता हेमकला कट्टेलको संयोजकत्वमा दुर्गा खनाल काफ्ले, राजेन्द्र भट्टराई, गोपाल काफ्ले लगायत रहेको निर्वाचन समिति बनाइएको छ ।

निर्वाचन समितिले आइतबार बिहान १० बजेबाट निर्वाचनको कार्यक्रम सुरु गर्नेगरी अहिले साँझ नै मतदाता नामावली प्रकाशन गरिसकेको छ ।

अनेमसंघ झापा जिल्ला अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सचिव लिला ढुंगेल दाहालले गरेकी थिइन् ।

सम्बन्धित खबर