२०८१ माघ २६, शनिवार , ०९:४२:५६ बजे

Sajhamanch
'

शिवसताक्षीमा जडिबुटीको सही पहिचान र प्रयोग सम्बन्धी अभिमुखीकरण

शनिवार, माघ २६, २०८१

शिवसताक्षी । शिवसताक्षी वडा नं. ८ का नागरिकलाई स्थानीय स्तरमा पाइने जडिबुटीको सही पहिचान र प्रयोग सम्बन्धी एक दिवसीय अभिमुखीकरण गरिएको छ।

दूधे आयुर्वेद औषधालयको आयोजनामा आज झिलझिलेमा ‘स्वस्थ जीवनशैली, जडिबुटीको प्रयोग र आयुर्वेदिक अभ्यासबारे नागरिक आरोग्य कार्यक्रम’ अन्तर्गत अभिमुखीकरण गराइएको हो।

कार्यक्रममा नगरप्रमुख मेघाहाङ्ग थोप्राले शरीर, मन र आत्माको सन्तुलनमा आधारित यो चिकित्सा प्रणालीले मानसिक, शारीरिक र आध्यात्मिक स्वास्थ्यलाई सुधार गर्न जोड दिने बताए ।

पछिल्लो समय एलोपेथिक पद्धतिले निको नभएका रोगहरु आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गर्दा दीर्घकालिन रुपमा रोगहरु निको भएका छन् । उनले भने, हामीले पनि नगरका सबै वडाहरुमा आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्दै लैजादै छौ ।

कार्यक्रममा दुधे आयुर्वेद औषधालयका कविराज राजेन्द्र पोखरेलले स्थानीय नागरिकलाई आयुर्वेद, योग र जडिबुटीको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यको सुधार, सकारात्मक सोच र व्यक्तित्व विकासका विषयमा जानकारी गराए।

उनले सर्ने र नसर्ने रोगहरूको प्रकोपलाई न्यूनिकरण गरी स्वस्थ समाज निर्माण गर्न यस्तो कार्यक्रमको महत्व रहेको बताए।

कार्यक्रमका प्रमुख अंशहरू मध्ये स्थानीय जडिबुटीहरूको पहिचान, सही प्रयोग मात्रा, स्वस्थ जीवनशैली, सन्तुलित आहार, आयुर्वेद स्वास्थ्य सेवाहरू र रोग अनुसार योग तथा ध्यानको प्रयोगात्मक अभ्यास समावेश थिए।

कविराज पोखरेलले भान्साबाट नै मानिसको जीवनशैली परिवर्तन गर्न सकिने बताए । उनले खानपानको समय, परिमाण र तरिकाबारे नागरिकलाई मार्गदर्शन प्रदान गरे।

‘खानपान र जीवनशैलीमा सुधार नगर्दा मानिसहरु उमेर नपुग्दै विभिन्न रोगले ग्रस्त हुँदैछन्’ पोख्रेलले भने । रोग प्रतिरोधात्मक क्षमताको वृद्धिका लागि योग, सन्तुलित आहार र जीवनशैलीमा सुधार सबैभन्दा उत्तम उपाय भएको उनको धारणा छ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका महिला स्वास्थ्य स्वयं सेविकाहरू, आमा समूहका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवीहरुले सहभागिता जनाएका थिए ।

सम्बन्धित खबर