२०८१ माघ २६, शनिवार , ०९:३०:५७ बजे

Sajhamanch
'

‘वैदेशिक रोजगारीले नेपाली समाजमा परेको प्रभाव’ विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न

शनिवार, माघ २६, २०८१

शिवसताक्षी । शिवसताक्षीमा आयोजित अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगितामा श्री भानु माध्यमिक विद्यालयकी छात्रा कन्चन काफ्लेले प्रथम स्थान हासिल गरेकी छिन् ।

‘वैदेशिक रोजगारीले नेपाली समाजमा परेको प्रभाव’ विषयक निबन्ध लेखन प्रतियोगितामा प्रथम भएसँगै उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै प्रतियोगिता श्री बालनिकुञ्ज माविका छात्र झरेन्द्र मिश्रले द्वितीय स्थान हासिल गरे भने श्री क्याम्ब्रिज अंग्रेजी माविका छात्र गणेश घिमिरेले तृतीय स्थान हासिल गरे ।

आयोजक सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले दिएको जानकारी अनुसार दोस्रो र तेस्रो हुने प्रतियोगीले क्रमशः नगद ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्टता हासिल गर्ने सबैलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

छात्रा कन्चन काफ्ले

प्रतियोगितामा मोती माविका छात्रा निरुता भट्टराई र भानु मावि पाराबारीका छात्र स्वपनिल नेपालले सान्तवना पुरस्कार हासिल गरेको सताक्षीधाम साहित्य संगमले जनाएको छ ।

साहित्य संगमले विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताको विकास गर्ने उद्देश्यले निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको संगमका अध्यक्ष उमानाथ दाहालले बताए । पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल र बढ्दो प्रविधिको प्रयोगले लेखन कलामा विद्यार्थीहरु पछि पर्दै गएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दाहालको भनाई छ ।

प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका थिए । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा यस्ता कार्यक्रमहरुले महत्वपूर्ण योगदान दिने बताए ।

प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक र संस्थागत गरी १७ माविका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा निर्णायकरुपमा श्रीप्रसाद खरेल, विरेन्द्र थोक्लियाङ्ग र गिरीराज शेर्माले भूमिका निर्वाहा गरेका थिए । सो प्रतियोगिता उद्घाटनका अवसरमा शिक्षासेवी मिलन ढुंगाना र राष्ट्रिय रमणीय आदर्श माविका प्रधानाध्यापक गिरीराज शेर्माले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन यादवप्रसाद घिमिरे र लोकमणि गौतमले गरेका थिए ।

सम्बन्धित खबर