२०८१ माघ २६, शनिवार , ०८:२१:२३ बजे

Sajhamanch
'

हरिवंशको ‘भूठान’लाई हलिउडको बफेलो एटले अमेरिका र क्यानडामा वितरण गर्ने

शनिवार, माघ २६, २०८१

काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउड वितरण कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ ।

अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार ‘बफेलो एट’का निर्देशक ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । यो कम्पनीले यसअघि अस्कर अवार्डमा पुगेको फिल्म ‘विमेन अफ द आवर’ लगायत ‘टेरिफाएर थ्री’, निकोलस केज अभिनित फिल्म ‘आर्केडियन’, रोबर्ट डि निरो अभिनित ‘वास मि इन द रिभर’ वितरण गरिसकेको छ ।अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको शीर्ष भूमिकामा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदीले अभिनय गरेका छन् ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।सन् २०१३ मा आएको चलचित्र ‘साँघुरो’बाट उत्कृष्ट पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार, सन् २०१९ मा पहिलो फिल्म ‘बुलबुल’ निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट सिफारिस एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो फिचर फिल्म हो ।

फिल्म प्रचारको लागि निर्देशक पौडेल र अर्का निर्माता सुशांक मैनाली केही दिनअघि नेपाल आइसकेका छन् । निर्माता अविरल थापा यस फिल्ममार्फत हरिवंशको नयाँ जन्म हुने र नेपाली दर्शकले नेपाली निर्देशकले हलिउडमा गएर बनाएको विश्वस्तरको सिनेमाको स्वाद चाख्न पाउनेमा विश्वस्त रहेको बताउँछन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीले थातथलो छोड्नुपर्दाको पीडा, आफ्नो घर हराएको कथा र अस्तित्वको खोज समेटेर बनेको यस फिल्मको अधिकांश छायाँकन अमेरिकामै भएको छ ।

प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापा, सुशांक मैनाली र किर्तना बाँसकोटा छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् । सहनिर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा ९बडाईं० र नवराज पराजुली छन् ।

सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, श्यामबरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन छ ।

फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । नेपालमा भने यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ ।

सम्बन्धित खबर