इलाम । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका– ११ आइतबारे घर भई हाल बिर्तामोड– ५ बस्ने ६० वर्षीय देउकुमार राई रहेका छन् ।
सवारी ज्यान मुद्दामा जिल्ला अदालत इलामको मिति २०५८ असोज १४ गतेको फैसलाले राईलाई १ वर्ष १० महिना १६ दिन कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
लुकिछिपी बस्दै आएका राईलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष प्रहरी टोलीले हिजो साँझ ६ः३० बजे उनको आफ्नै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।