काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले संसदमा पेस गरेको अध्यादेश लगायतका विषयमा छलफल थालेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल थालेका हुन् ।
माघ १८ गते बसेको संसद्को हिउँदे अधिवेशनमा सरकारले विभिन्न ६ वटा अध्यादेश पेस गरेको थियो । अध्यादेशको विपक्षी दलहरूले चर्को विरोध गरेका छन् । संसद्लाई छलेर सरकारले गलत तरिकाबाट अध्यादेश ल्याएको विपक्षी दलहरूको आरोप छ ।
सभामुखसँगको छलफलमा काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।