२०८१ माघ २१, सोमवार , ०१:२४:०४ बजे

Sajhamanch
'

युवाहरूलाई प्रधानमन्त्रीको सुझाव : व्यावसायिकता र उद्यमशीलतातर्फ लागौँ

सोमवार, माघ २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ता आत्मनिर्भरता बन्नेतर्फ लाग्नुपर्ने बताएका छन् । काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् ।

‘जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गरौँ ताकी उनीहरू आफै आत्मनिर्भर हुन सकुन्’, प्रधानमन्त्रीले भने– ‘केही नयाँ चिज गर्न सकुन् र अरूलाई पनि रोजगारीका अवसरहरू दिन सकुन् । त्यसतर्फको जनशक्ति तयार गर्न सकौँ।’

साथै प्रधानमन्त्रीले युवाहरूलाई कहिल्यै पनि गलत सङ्गतमा नलाग्न आग्रह गरेका छन् । ‘गलत सङ्गतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्ने बित्तिकै छाडिदिनुस् । सङ्गत ठिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिँगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डङ्गुरमा पुर्‍याउँछ । त्यसकारण फोहोरको डङ्गुरमा झिँगाको साथ लाएर जान हुँदैन ।’

राष्ट्रिय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकारले पहल गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।