झापा । कोशी प्रदेशमै पहिलो पटक झापाको बिर्तामोड–५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको मन्दिरमा बहुमूल्य र कलात्मक मूर्ति प्रतिस्थापन गरिने भएको छ ।
भारत जयपुरका एकजना मूर्तिकारले एउटै सिंगमरमरको ढुंगाले गायत्री माताको सो मूर्ति निर्माण गरेका हुन् । पंचमुखी र दशहाते सो मूर्ति ५ फिट अग्लो रहेको मन्दिर निर्माण समितिका संयोजक रोनक वंशलले बताए ।
दाहिने हात र दाहिने खुट्टा नभएका ६३ वर्षका ती कलाका सर्जकलाई माघ २१ गते नगदसहित सम्मान गरिने भएको छ । उनलाई १ लाख १ हजार नगदसहित सम्मान गर्न लागिएको वंशलले जानकारी दिए ।
माघ २० गते राभभरि जजमानहरुले यज्ञ गरिसकेपछि भोलिपल्ट माघ २१ गते बिहान पञ्चेबाजा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड बाजा, सन्थाल नृत्य, विभिन्न जातजातिका झाँकी, स्काउटसहित विभिन्न संघ–संस्थाको र्यालीले बिर्तामोड बजार परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
सो र्यालीमा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको सहभागिता रहने भएको छ ।
र्यालीपछि विधिपूर्वक प्राण प्रतिष्ठा गरिने कार्यक्रम संयोजक रोनक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।