झापा । झापाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दातृ संस्था हेल्पिङ हेण्ड (युएसए)ले अस्पतालजन्य सामग्री प्रदान गरिरहेको छ । वर्क फर नेपालको स्थानीय व्यवस्थापनमा हेल्पिङ हेण्डले अस्पतालजन्य सामग्री प्रदान गर्दै आएको हो ।
यही सिलशिलामा आज बुधबार बिर्तामोड नगर अस्पतालमा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अस्पतालजन्य सामग्री हस्पतान्तरण गरिएको छ । बिर्तामोड नगर अस्पताललाई वर्थिङ वेड, इसिजी, सर्जिकलका सामान, अक्सिजन कन्सन्ट्रेटर लगायतका अस्पतालजन्य सामग्री प्रदान गरिएको हो ।
वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीका अनुसार बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजारको सामग्री प्रदान गरिएको छ ।
यस्तै, सभामुख घिमिरेबाट खुदुनाबारी स्वास्थ्य चौकीलाई सोही प्रकारका २५ लाख १४ हजार रुपैयाँ बराबरको अस्पतालजन्य सामग्री प्रदान गरिएको अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले दिएको जानकारी अनुसार प्रादेशिक आयुर्वेदिक अस्पताल कमललाई मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट ४१ लाख ५४ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको छ । भोलि बिहीबार कुमरखोदमा रहेको स्वास्थ्य चौकीलाई ३६ लाख रुपैयाँभन्दा बढी रकमको अस्पतालजन्य सामग्री हस्तान्तरण गरिने बताइएको छ ।
बिर्तामोड नगर अस्पतालमा सामग्री हस्तान्तरण गर्दै सभामुख देवराज घिमिरेले बिर्तामोड शिक्षा र स्वास्थ्य क्षेत्रमा हबका रुपमा विकास भइरहेको बताए । ठूला निजी अस्पतालसँग प्रतिष्पर्धा गर्दै सहुलियत रुपमा नगर अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा उनले धन्यवाद पनि दिएका छन् ।
अस्पताल स्थापनादेखि नै स्वास्थ्य उपचार सेवामा नगर अस्पतालले दिइरहेको सेवाप्रति खुशी व्यक्त गर्दै सभामुख घिमिरेले भने ‘सुलभ रुपमा उपचार सेवा प्रदान गर्दै यहाँका निजी अस्पतालहरुसँग प्रतिष्पर्धा गर्न सक्ने विश्वास गरेको छु । सरकारी स्वास्थ्य संस्थामा नगर अस्पतालले अब्बल संस्थाको रुपमा स्थापित हुनेछ ।’
‘जहाँ इच्छा, त्यहाँ उपाय’, उनले थपे– ‘बिर्तामोड नगर अस्पताल ठुलो आँट र हिम्मतका कारण यहाँसम्म आइपुगेको छ । बाँकी दिनहरुमा प्रभावकारी रुपमा सेवा दिन सक्नुहोस्, निजी अस्पताललाई प्रतिष्पर्धा गर्न आउने बनाउनुहोस् । त्यसका लागि सहयोग गर्न तयार छु ।’
उपचार सेवालाई प्रभावकारी बनाउँदै जान आग्रह गर्दै सभामुख घिमिरेले अस्पताल स्थापित गर्ने मुख्य दायित्व नगरपालिकाको भएको प्रष्ट पारेका थिए ।
कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले विगतको तुलनामा स्वास्थ्य संस्थाले उल्लेख्य प्रगति हासिल गरेको बताइन् ।
नगर अस्पताललाई कमजोर बनाउने उद्देश्यले विगतमा विभिन्न समस्याहरु आए पनि त्यसलाई चिरेर अघि बढेको उनको भनाई थियो ।
नगर अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने दातृ संस्थाहरुलाई धन्यवाद दिदैं नगरप्रमुख प्रसाईंले स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गरेकी छिन् ।
स्वास्थ्यकर्मीहरुको मनोवललाई उच्च बनाउँदै नगरबासीको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउने नगरप्रमुखको प्रतिवद्धता छ ।
कतिपय उपकरणहरु सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएकाले ढिलाई भएको जानकारी दिदैं अब तत्कालै सञ्चालन गरिने पनि जानकारी दिइन् ।
नगर अस्पतालबाट २४ घण्टा सेवा दिनका लागि आतुर रहेको बताउँदै उनले १२ घण्टा सेवा माघ २ गतेबाट सुरु भइसकेको जानकारी गराइन् । अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि सेवा सुरु भइसकेको छ ।
अस्पतालजन्य सामग्री हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा गरिरहेको कामका बारेमा जानकारी गराएका थिए ।
नगर अस्पतालका लागि सुविधा सम्पन्न शुद्ध खानेपानीको व्यवस्थापन मिलाउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोशी प्रदेशका सांसद चिन्तन पाठक, अस्पतालका मेसु डा. सुनिल अधिकारी लगायतले सो कार्यक्रममा आ–आफ्ना धारणा राखेका थिए ।