काठमाडौं । चुनावी वाचाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएलगत्तै गैरकानूनी आप्रवासीमाथिको कार्वाहीलाई तीव्र तुल्याएका छन् । यस क्रममा ५०० भन्दा धेरै पक्राउ परेका छन् र कतिपयलाई देश फिर्ता गराइएको छ ।
ट्रम्पले आप्रवासीलाई धमाधम निकाला गर्दैगर्दा यसबीचमा पपस्टार सेलेना गोमेजको भिडियो भाइरल भइरहेको छ, जसमा उनी रोएकी छन् । अमेरिकी राष्ट्रपतिले अध्यागमन नीति कडा बनाउँदै कार्वाही तीव्र तुल्याएपछि उनले आँसु झारिन् ।सेलेनाले इन्स्टाग्राममा भावुक पोस्ट सेयर गरेकी छिन् । ३२ वर्षीय गायिकाले गत जनवरी २७ मा मेक्सिकन झण्डाको इमोजी प्रयोग गरेर ‘मलाई माफ गर्नुहोस्’ क्याप्सनको साथ एक भावनात्मक क्लिप पोस्ट गरेकी थिइन् । तर पछि भिडियो हटाइन् ।
गोमेजले भिडियोमा अहिलेको अवस्थाप्रति दुःख व्यक्त गर्दै भनिन्, ‘मेरा सबै मानिसमाथि आक्रमण भइरहेको छ, बालबालिकालाई समेत । मैले बुझ्न सकिरहेको छैन । म धेरै दुखी छु । म केही गर्न चाहन्छु, तर म सक्दिन । मलाई के गर्ने थाहा छैन । म सक्दो प्रयास गर्नेछु । म प्रतिज्ञा गर्छु ।’