![](https://sajhamanch.com/wp-content/uploads/2023/12/1703224120_cricket_ball-1200x560-1200x560-1.jpg)
बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।
आज सोमबार सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित २० ओभरमा २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा बुद्धशान्तिले ८ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।
गौरादहका लागि सुरज न्यौपानेले ५४ रन र अर्जुन यादवले ५० रनको योगदान दिए । बुद्धशान्तिका लागि आदिहाङ फागोले सर्वाधिक ४० रन, कप्तान अर्पण कार्कीले ३४ रन र पारस निरौलाले उल्लेख्य योगदान दिए पनि अन्य ब्याट्सम्यानले प्रदर्शन गर्न सकेनन् ।
खेलको प्लेयर अफ द म्याच गौरादहका सुरज न्यौपाने भए । उनले नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।
दोस्रो खेलमा कचनकवलले गौरीगञ्जलाई ९ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको गौरीगञ्जले १० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रन मात्र बनाउन सक्यो ।
कचनकवलका बलरहरूसामु निरीह देखिएको गौरीगञ्जका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
४४ रनको लक्ष्य कचनकवलले ४ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा गर्यो । कचनकवलका लागि दिपेश बोगटीले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । उनी प्लेयर अफ द म्याच हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।
भोलिदेखि क्वार्टर फाइनलका खेलहरू सुरू हुने आयोजकले जनाएको छ ।
पहिलो क्वार्टर फाइनलमा झापा गाउँपालिका र बिर्तामोड खेल्नेछन् भने दोस्रो खेल कनकाई र भद्रपुर नगरपालिकाबीच हुनेछ ।