झापा । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् ।
भोलि मंगलबारबाट शुरु गर्न लागिएको ब्यापार महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी जनाएको हो । माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडस्थित महोत्सवस्थलमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले महोत्सवमा १५० वटा स्टलहरु रहेको बताए । यहाँका व्यवसायीहरुले देश विदेशका विभिन्न भागमा उत्पादित सामग्रीहरुको भण्डारण, वितरण र निर्यातको काम गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसलाजस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवर्धन गर्ने अपेक्षा रहेको सुनाए ।
महोत्सवले यहाँका व्यवसायी मार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी बस्तु उत्पादन गरेर रोजगारी सिर्जना गराउन थप बल प्रदान गर्ने विश्वास लिएको उनको भनाई छ । महोत्सवमा मित्रराष्ट्र भारत, भुटान, बंगालादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टलहरु समेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले बताए ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने व्यवस्थापक ललित सिम्खडाले बताए । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने बताइएको छ ।
महोत्सव अवधिभर दुई लाख जनाभन्दा बढी अवलोकनकर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रवन्ध गरिएको पत्रकार सम्मेललनामा जानकारी दिइयो ।
शान्ति सुरक्षाको चुस्त व्यवस्थापनका लागि स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समेत सहयोग लिइएको र महोत्सवलाई थप उल्लासमय बनाउन बालबालिकाहरुलाई लक्षित गरी मनोरञ्जनपूर्ण खेलहरु समेत महोत्सव परिसरमा व्यवस्थापन गरेको अध्यक्ष न्यौपानेले बताए ।
महोत्सवको उद्घाटन सत्रमा अपरान्ह १ बजे दर्जनौं जातिका भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र शुभेच्छुकहरुको उपस्थितिमा नगरपरिक्रमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । नगर परिक्रमा संघको कार्यालयबाट प्रारम्भ हुने छ ।
नेपालसहित छिमेकी मुलुकका उपभोक्तालाई एकै थलोबाट उपभोग्य वस्तुको खरिद र अवलोकन गराउँदै आर्थिक गतिविधिलाई थप चलायमान बनाउन यो महोत्सवले टेवा पुर्याउने आयोजकको विश्वास छ ।
पत्रकार सम्मेलनमा संघका जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले स्वागत गरेकी थिइन् भने सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।