२०८१ माघ २, बुधवार , ०८:४०:५९ बजे

Sajhamanch
'

बिर्तामोड नगर अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि

बुधवार, माघ २, २०८१

बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा आज माघ २ गतेदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको छ ।

२४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको सो अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए ।

अब बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुनेछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीका अनुसार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ।

अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य बीमा बाहेकका सेवाग्राहीले १०० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था छ ।

नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुको ओपिडी सेवा दैनिकरुपमा उपलव्ध छ ।

यसैगरी २४ सै घण्टा नर्मल डेलीभरी सेवा, स्वास्थ्य बीमा सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सर्जरी र आधुनिक ल्याबको समेतको व्यवस्था गरिएको डा. अधिकारीले जानकारी दिएका छन् ।

२४सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्ने तयारी भए पनि सुरुवातमा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

हाल १५ शैयाको नगर अस्पताललाई स्तरोन्नतिको लागि भवन निर्माणको काम धमाधम भइरहेको छ । १५ करोड ३४ हजार ३३६ रुपैँयामा भवन निर्माणको काम भइरहेको हो ।

भवन निर्माण सम्पन्न भएपछि नगर अस्पताल २५ शैयाको हुने जनाइएको छ ।

सम्बन्धित खबर