कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयले आफ्नो ५३औं वार्षिकत्सव तथा अभिभावक दिवसका अवसरमा एक दर्जनभन्दा बढी शिक्षक र विद्यार्थीहरुलाई सम्मानित र पुरस्कृत गरेको छ ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा शुक्रबार सो विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
सो अवसरमा लामो समय विद्यालयमा सेवा प्रदान गरी सेवा निवृत्त भएका शिक्षक ओमप्रसाद खनाल, अभिनारायण तिम्सिना र अम्विकाकुमारी खड्कालाई खदा ओढाएर सम्मान पत्र प्रदान गरियो ।
यस्तै सो विध्यालयमा कार्यरत शिक्षक रितादेबी अधिकारी, रत्न थापा, सरोज श्रेष्ठ, प्रतिमा पन्त, सरिता घिमिरे, दिपक सापकोटा, कुमार दाहाल, राजकुमार ओझा र अक्षयकोष दाता तारादेवी अधिकारीलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा विष्णुमाया थापा अक्षयकोषबाट कक्षा १२ को बोर्ड परीक्षामा सबैभन्दा धेरै अंक प्राप्त गरी उत्कृष्ट हुने विद्यार्थी कृष्ण बस्नेत र भिमकुमारी बस्नेतलाई जनही ४ हजार ६०० रुपैयाँका दरले पुरस्कार प्रदान गरी सम्मानपत्र प्रदान गरियो ।
सो कार्यक्रमका प्रमुख अतिथि बरालले निर्माण सम्पन्न भएर लामो समय विद्यालयलाई हस्तान्तरण गर्न बाँकी रहेको विध्यालय भवन प्रक्रिया पुर्याएर चाँडै प्रदान गरिने बताए ।
विध्यालयका प्रधानाध्यापक मोहनकुमार बगालेले वार्षिक उत्सवका अवसरमा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।