२०८१ पौष २५, बिहिवार , ०९:४२:१६ बजे

Sajhamanch
'

बंगलादेशका कार्यवाहक राजदूत कविर झापामा

बिहिवार, पौष २५, २०८१

मेचीनगर । नेपालका लागि बंगलादेशका कार्यवाहक राजदूत महमद हुमाई कविरले नेपाल र बंगलादेश व्यवसायिक रुपमा ठूलो सम्भावना बोकेको देशहरु भएको बताएका छन् ।

आज साँझ झापाको धुलाबारीमा नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सले आयोजना गरेको भेटघाटमा राजदूत कविरले यस्तो धारणा राखेका हुन् ।

‘भारतसँग जति बंगलादेशले व्यापार गरिरहेको छ, त्यो नेपालसँग भएको छैन’ कविरले भने– ‘नेपाल र बंगलादेश व्यापारका लागि ठूलो व्यवसायिक सम्भावना छ । त्यसका लागि मैले सक्ने प्रयत्न गर्नेछु ।’

नेपाल र बंगलादेशबीच भएका व्यापारका विभिन्न सहमतिका विषय र भावि योजनाका बारेमा उनले प्रकाश पारेका थिए ।

नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन, इनकमिन प्रेसिडेन्ट किशोर क्षेत्री (कपिल)ले नेपाल, भारत र बंगलादेशको सीमा नाकामा उद्योगी व्यवसायीलाई हुने विभिन्न समस्याहरुलाई सहजरुपमा निराकरण गरिदिन कार्यवाहक राजदूत कविरलाई अनुरोध गरेका थिए ।

जैन र क्षेत्रीले विद्युत, पानी, ढुंगागिटी, प्लाइउड, भेनियर, खाद्यान्न लगायतको व्यापारमा बंगलादेश र नेपालले कर र अन्य झन्झटिलो प्रक्रियालाई सहज गरिदिन मागसमेत गरेका थिए ।

जैन मेची उद्योग वणिज्य संघका पनि संस्थापक अध्यक्ष हुन् । त्यस्तै क्षेत्री संघका वरिष्ठ उपाध्यक्ष हुन् ।

काठमाडौँ दुतावासबाट विराटनगर आएका उनी आज झापा बसेका छन् । भोलि मेची भन्सार कार्यालयमा कार्यक्रम रहेको छ ।

भर्खरै बंगलादेशमा विद्यार्थीको आन्दोलन पछि प्रधानमन्त्री शेख हसिना पदमुक्त भएका र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धदीन नोमन चौधरी हटेपछि कविर कार्यवाहक राजदूत भएका हुन् ।

कार्यक्रमको सहजीकरण नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका महासचिव ध्रुब कनालले गरेका थिए ।

सम्बन्धित खबर