मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४७८ जनाले सेवा लिएका छन् ।
आज मेचीनगर १० धुलाबारीमा भएको स्वास्थ्य शिविरमा ३ वर्षकी बालिकादेखि ९३ वर्षका ज्येष्ठ नागरिकले सेवा लिएका थिए । शिविरमा भिडियो एक्सरे, ईसीजी, ल्याब टेष्ट, औषधी, चश्मा लगायतका सामग्रीसमेत वितरण गरिएको थियो ।
शिविरमा ११४ जनाको भिडियो एक्स–रे, १३७ जनालाई निःशुल्क चश्मा प्रदान र ३४९ जनालाई औषधि वितरण गरिएको मेची उद्योग वाणिज्य संघका महासचिव एवम् कार्यक्रम संयोजक दिनेश शाक्यले जानकारी दिए ।
शिविरमा ओमसाई पाथीभरा हस्पिटलका डाक्टर डालिम काफ्लेको नेतृत्वमा खटिएको २३ जना चिकित्सकीय टिमले विभिन्न रोगका विरामीहरुलाई उपचार सेवा प्रदान गरेका थिए ।
त्यस्तै हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम), प्रशासन प्रमुख दिप पोखरेल लगायतले पनि शिविरमा सहजीकरण गरेका थिए ।
शिविरमा हाडजोर्नी, स्त्रीरोग, आँखा, दन्तसेवा, बालरोग, नाक–कान–घाँटी रोग, युरोलोजी, जनरल फिजिसियन लगायतका सेवा उपलब्ध गरिएको थियो ।
मेचीनगरका १५ वटै वडा, बुद्धशान्ति गाउँपालिका र इलाम क्षेत्रका नागरिकहरुले समेत शिविरबाट सेवा लिएका मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।