झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको गौरीगञ्ज आएर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा माथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा आज सोमबार नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले ओली माथि आफूले गिरीबन्धु टी इस्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै सरकार ढालिएको जिकिर गरेका हुन् ।
उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको हो भन्दै प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको घिनलाग्दो आरोपसमेत लगाएका छन् ।
अध्यक्ष प्रचण्डलाई गौरीगञ्ज जाने क्रममा शिवसताक्षीको झिलझिलेमा स्वागत गरिएको थियो । नेकपा माओवादी केन्द्र शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराईले प्रचन्डलाई खादा माला लगाइ दिएर स्वागत गर्दै यहाँको विविध विषयमा जानकारी गराएका हुन् ।
झापाको गौरीगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति अनुसार बिहानको खाना खाएको जनाइएको छ ।
कुनै दिन दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा केपी ओली र प्रचण्डले सरेसको थालमा मार्सी चामलको भात खाएको दृष्यलाई बिर्साउने गरी प्रचण्डले आज केराको पातमा उसिना चामलको भात, लाफाको पेल्का (लाफा सागको दाल), आलु र फूलकोभीको भाजी र रहु माछा खाएको तस्वीर भाइरल भइरहेको छ । ।
कोच संस्कृति अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसंगै हरिबोल गजुरेल, इन्द्र आङबो, सावित्रीकुमार काफ्ले, जीवन आचार्य, धर्मशीला चापागाँई लगायतले खाना खाएका थिए ।
राजवंशीको घरमा करिव ७५ जनाले खाना खाएको एक स्थानीय कार्यकर्ताले बताए । जसको व्यवस्थापन पाटीको जिल्ला कमिटीले गरेको थियो ।
खाना पकाउन र खुवाउन १० भन्दा बढी टहलुवा र कामकरी (राजवंशी भाषामा भोजभतेरमा खटिने पुरुष र महिला कामदार) खटिएको माओवादी कार्यकर्ताले जानकारी दिए ।