काठमाडौं । संघीय संसदमा विचारधीन विधेयकहरूबारे छलफल गर्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले कार्यदल बनाएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकले विधेयकहरूमा सहमति जुटाएर आउँदो अधिवेशनमा पेस गर्न सहज हुने गरी छलफल गर्न र सुझाव पेस कार्यदल बनाउने निर्णय गरेका हुन्।
कार्यदलमा दुवै पार्टीका संसदीय विभागका प्रमुखहरू, संसदीय दलका प्रमुख सचेत तथा सचेतकहरू सदस्य रहनेछन्।
एमाले संसदीय विभागका प्रमुख योगेश भट्टराईका अनुसार कार्यदलले सबै विचाराधीन विधेयकहरूमा छलफल गरेर साझा धारणाा तय गर्नेछ।
‘संसदमा धेरै विधेयकहरू अलपत्र अवस्थामा छन्। ती सबैको अवस्थाबारे अध्ययन गरेर कसरी अघि बढाउन सकिन्छ छलफल गर्छौं र एउटा सुझाव पेस गर्छौं,’ उनले भने।
विधेयकहरू अघि नबढ्दा संसदले बिजनेस नपाएको टिप्पणी भइरहेका बेला दुई दलले संसदीय काम कारबाही प्रभावकारी बनाउने भन्दै कार्यदल बनाउने निर्णय गरेका हुन्।
यसअघि दुवै दलका शीर्ष नेताहरू भएको उच्चस्तरीय संयन्त्र बनाइएको थियो। संयन्त्रले सरकार सञ्चालनका लागि सुझाव दिने काम गर्छ।
यो संयन्त्रमा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक संयन्त्रमा छन्।