दुबई । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आदिवासी जनजाति महासंघ, युएईले प्रथम इन्डिजिनियस कप फुटबल टुर्नामेन्टको आयोजना गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ युएईले आफ्नो इतिहासमा नै पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगितामा महासंघमा आवद्ध १० वटा जातीय संस्था, नेपाल एम्बेसी आबुधाबी र नेपाली फुटबल टीम गरी १२ वटा टीमले प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष बिक्रम लिम्बूले जानकारी दिएका छन् ।
उक्त फुटबल टुर्नामेन्टमा विजयी र उपविजयी दुवै टिमलाई नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । साथै टुर्नामेन्टको वेष्ट प्लेयरलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिने दुबईस्थित हाम्रा समाचारदाता सूर्यबहादुर खबासद्वारा सम्प्रेशित समाचारमा जनाइएको छ ।
यही डिसेम्बर २९ तारिखका दिन दुबईस्थित अबुहेल स्पोर्ट्स क्लबको खेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको महासंघका महासचिव डिके किराँतीले जनाएका छन् ।