२०८१ पौष ८, सोमवार , ०३:२३:५८ बजे

Sajhamanch
'

बढ्यो पेट्रोल, ग्यास र हवाई इन्धन आयात, घट्यो डिजेल

सोमवार, पौष ८, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ ।

यसले विद्युतीय सवारीसाधनको बढ्दो चापसँगै पेट्रोलियम पदार्थको आयात न्यून गर्ने सपना तत्कालै भने असम्भव जस्तै देखिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ ।

यस वर्ष मसिंरसम्म ४ लाख ७२ हजार ८०७ किलोलिटर डिजेल आयात भएको छ । गत आव मंसिरसम्म ४ लाख ८९ हजार ९३६ किलोलिटर डिजेल आयात भएको थियो । यस वर्ष डिजेल आयातमा विदेशिने रकम समेत घटेको छ ।

मंसिरसम्म डिजेल आयातमा ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबर रकम विदेशिएको छ । गत आव मंसिरसम्म ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँ बराबर रकम डिजेल आयातमा विदेशिएको थियो ।

यस वर्ष पेट्रोल आयात ३ लाख ६ हजार २२९ किलोलिटर बराबर भएको छ । गत वर्ष मंसिरसम्म २ लाख ८१ हजार ९७० किलोलिटर बराबर थियो ।

पेट्रोल आयातमा खर्च भएको रकम भने यस वर्ष केही कम भएको छ । यस वर्ष मंसिरसम्म २६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पेट्रोल आयातमा खर्च भएको छ । गत वर्ष यो रकम २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ थियो ।


खाना पकाउने ग्यास यस वर्ष मंसिरसम्म २१ करोड ७७ लाख ७४ हजार ४३३ किलो आयात भएको छ । गत वर्ष मंसिरसम्म २१ करोड ४२ लाख ९१ हजार ६ किलो ग्यास आयात भएको थियो ।

ग्यास आयातमा यस वर्ष २४ अर्ब २२ करोड ९१ लाख खर्च भएको छ । गत वर्ष यो रकम २० अर्ब ६५ करोड ५८ लाख रहेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

हवाई इन्धन यस वर्ष ८९ हजार ५४५ किलोलिटर आयात भएको छ । गत वर्ष मंसिरसम्म ७८ हजार ११२ किलोलिटर हवाई इन्धन आयात भएको थियो । हवाई इन्धन आयातमा यस वर्ष ८ अर्ब १४ करोड ५९ लाख खर्च भएको छ । गत वर्ष यो रकम ८ अर्ब ६६ करोड २१ लाख बराबर थियो ।

सम्बन्धित खबर