अहिले मानिसका पेसा व्यवसाय पनि अनौठा खालका छन् । पछिल्लो पुस्ताका युवकयुवतीहरुले कसरी छिटोभन्दा छिटो पैसा कमाउन सकिन्छ भन्ने कुरामा बढ्ता ध्यान दिने गरेका छन् र यसका लागि जस्तोसुकै अपत्यारिलो र असजिलो काम गर्नपनि पछि पर्दैनन् ।
अमेरिकाको मियामीमा एक युवतीले हालै एउटा यस्तै अफर सार्वजनिक गरेकी छिन् ।२९ वर्षीया जेसनिया रेबेकाले यही क्रिसमसमा एकल युवकहरुका लागि शुल्क असुल गरी भाडाकी प्रेमिका बन्ने अफर ल्याएकी छिन् । उनका अनुसार आफूले तोकेको मूल्य तिर्ने पुरुषका लागि उनी एक प्रेमिकाको रुपमा उसका परिवारजनसँग समेत डिनरमा सहभागी हुनेछिन् ।
आफूलाई पारिवारिक क्रिसमस डिनरमा बनिबनाउ गर्लफ्रेण्ड बन्नका लागि पैसा प्राप्त भयो भने आफू भाँडा धुनसमेत तयार रहेको उनले बताएकी छिन् ।रेबेकाका अनुसार जब सिंगल युवकहरु छुट्टीको बेला घरमा जान्छन् तब उनीहरु प्रायः आफ्नो प्रेम जीवनका बारेमा सोधिने प्रश्नहरुबाट बँच्नका लागि अनेक उपाय गर्नुपर्छ । यस्तो परिस्थितिमा रहेका युवकाका लागि रेबेका नक्कली गर्लफ्रेण्ड बनिदिनेछिन् ताकि परिवारजनले आफ्नो छोरा वा भाइ सिंगल रहेको कुरामा चिन्ता गर्नु नपरोस् ।
मियामीकी बासिन्दा रेबेकाले सोसल मिडियामा आफ्नो क्रिसमस गर्लफ्रेण्ड प्याकेजको घोषणा गरेकी छिन् । उक्त प्याकेज अन्तरगत सबैभन्दा सुपथ सेवाको मूल्य डेढ सय डलर प्रतिघण्टा रहेको छ । आफूले सिंगल युवकहरुको छुट्टीका लागि एउटा उत्कृष्ट सेवा प्रदान गरिरहेको र त्यसमा तीनवटा फरक(फरक प्याकेज रहेको उनले उल्लेख गरेकी छिन् ।
पहिलो प्याकेजको रुपमा रहेको सिल्भर प्याकेजको शुल्क २५० डलर रहेको छ । साथै यो प्याकेजमा नगदसँगै उनलाई एउटा उपहार पनि दिनुपर्नेछ। त्यसको बदलामा रेबेकाले उक्त केटाको परिवारसँग उसको गर्लफ्रेण्ड जस्तै बनेर २ घण्टा बिताउनेछिन्, जसमा डिनर गर्ने वा चुट्किला सुनाउने लगायतका काम पनि हुनेछन् ।
त्यस्तै दोस्रो गोल्ड प्याकेजमा तीन घण्टाको समय रहनेछ । यसका लागि साडे ४०० डलर शुल्क तिर्नुपर्नेछ । यसअन्तर्गत जेसेनियाले क्रिसमसको दिन ३ घण्टाको समय सम्बन्धित युवकको घरमा बिताउनेछिन् । त्यसक्रममा उनले सम्बन्धित युवकसँग साँच्चीकै प्रेममा रहेको नाटक गर्दै आफूहरुको भेट कहाँ भएको भन्ने लगायतका मनगढन्ते कहानी पनि भन्नेछिन् ।
सबैभन्दा प्रिमियम प्याकेज चाहिं प्लाटिनम प्याकेज रहेको छ । यसका लागि ६०० डलर तिर्नुपर्नेछ । यो प्याकेज अन्तर्गत उनी ६ घण्टासम्म एक प्रेमिल प्रेमिका बनेर युवकको घरमा रहनेछिन् । साथै परिवारजनकै अगाडि युवकलाई आइ लभ यु पनि भन्नेछिन् र गालामा चुम्बन समेत गर्नेछिन् । साथै डिनर खाइसकेपछि परिवारका भाँडाकुँडा पनि धुनेछिन् ताकि उनलाई परिवारले निकै समर्पित प्रेमिकाको रुपमा हेरोस् ।रेबेकाले आफ्नो उक्त अफरलाई सोसल मिडिया प्लाटफर्म एक्समा शेयर गरेकी छिन् । त्यसमा धेरै प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले आफू रेबेकालाई गर्लफ्रेण्ड बनाउनका लागि गोजी खाली गर्न तयार रहेको बताएका छन् ।एजेन्सी