२०८१ पौष ३, बुधवार , १०:०९:४८ बजे

Sajhamanch
'

सुपर फोरमा पुगेको नेपालले श्रीलंका र बंगलादेशसँग खेल्ने

बुधवार, पौष ३, २०८१

काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपमा मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ।

यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगे। यसअघि यी दुवै टिमले पाकिस्तानलाई हराएर एक खेलअघि नै सुपर फोरमा पुगेका थिए। नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बङ्गलादेश र श्रीलङ्काविरुद्ध खेल्ने छ।

त्यसको एक दिनअघि कप्तान पूजा महतोले पाकिस्तानविरुद्धको ऐतिहासिक जितमा सर्वाधिक रन बनाएकी थिइन्। उनी जारी खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छन्।

गत कात्तिकमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा भएको एसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको विजेता बन्दै नेपाल पहिलो पटक यु–१९ महिला टी–२० विश्वकपका साथै यु–१९ एसिया कपमा छनोट भएको थियो।

नेपाल महिला यु–१९ एसिया कपको पहिलो संस्करणमै पाकिस्तानलाई पछाडि पार्दै सुपर फोरमा पुगेको छ।​

सुपर फोरमा पुगेका दुई समूहका टोलीबीच एक अर्काविरुद्ध खेल्नेछन्। भारत र नेपाल समूह एबाट सुपर फोरमा पुगेका हुन्। अब यी दुईले समूह बी बाट सुपर फोरमा पुगेका दुई टीम श्रीलंका र बंगलादेशसँग खेल्नेछन्।

बंगलादेश समूह बीमा दुई खेलमा विजयी हुँदै सुपर फोरमा पुगको हो। उसको चार अंक रहेको छ। बंगलादेशले श्रीलंका र आयोजक मलेसियालाई हराएको छ। उसको चार अंक रहेको छ। र, सुपर फोरको अंक तालिकाको शिर्ष स्थानमा छ।

दोस्रो स्थानमा भारत रहेको छ। तीन अंक रहेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। दुई खेलमा एक खेलमा विजयी भएको श्रीलंकाको २ अंकमात्र रहेको छ।

यो अंक सुपर फोरमा पनि जोडिने छ। र,शीर्ष स्थानका दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्। तेस्रो र चौथो टोली बाहिरिने छन्।

नेपालले भोलि श्रीलंकासँग खेल्नेछ। खेल बिहान पौने ११ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ। त्यस अघि भारत र बंगलादेश भिड्नेछन्।

त्यसको एकदिन पछि भारत र श्रीलंका आमनेसामने हुँदा नेपालले सोहिदिन बंगलादेशसँग खेल्नेछ। फाइनल खेल आइतबार हुनेछ।

सम्बन्धित खबर