बिर्तामोड । प्रगतिशील लेखक संघ (प्रलेस) झापाको पाँचौ कृति ‘सुखानी’ र साहित्यकार मीना अधिकारीको चौथो कृति ‘अमरज्योति षडानन्द’को आज बिर्तामोडमा लोकार्पण गरिएको छ ।
प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्राध्यापक डाक्टर बद्रीविशाल पोख्रेलको प्रमुख आतिथ्यमा उक्त दुवै कृतिको एकसाथ विमोचन गरिएको हो ।
प्रलेस कोशी प्रदेशका अध्यक्ष तिला लेकालीको विशिष्ट आतिथ्यमा आयोजित सो पुस्तक लोकार्पण कार्यक्रममा नेपाली साहित्यका विभिन्न विधाका मुर्धन्य व्यक्तित्वहरुको सहभागिता थियो ।
लोकार्पित पुस्तक सुखानीको समीक्षा भीम दहालले र अमरज्योति षडानन्दको समीक्षा हरिनारायण भट्टराईले गरेका थिए ।
प्रलेस झापाका सचिव बिन्दु दहाल ‘मूकदर्शक’ले सञ्चालन गरेको सो पुस्तक लोकार्पण कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई आरती पोखरेलले शाब्दिक स्वागत गरेकी थिइन् ।