काठमाडौं । मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग नियन्त्रणका लागि फागुनभर परीक्षण तथा पहिचान अभियान सञ्चालन हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ती रोग नियन्त्रणका लागि फागुनभर परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने गरी निर्देशिका स्वीकृत गरेका हुन्।
साउन २७ गते सार्वजनिक योजना तथा प्राथमिकतामा आधारित रहेर सञ्चालन हुने अभियान यस वर्ष फागुन र हरेक वर्ष एक महिनाभर सञ्चालन हुने गरी व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
यसैगरी पाठेघरको मुखको क्यान्सरबाट महिला दिदीबहिनीको ज्यान बचाउने उद्देश्यले फागुन महिनाभर परीक्षण अभियान सञ्चालन हुनेछ। यसवर्ष देशैभर दुई लाख ५० हजारको स्क्रिनिङ गर्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ।
यसबाहेक माघ २२ गतेबाट दुई सातासम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।