शिवसताक्षी । झापा शिवसताक्षीको गैंडेस्थित पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वार दुई मुखे गेटको आज उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रुपमा रिवन काटेर गेटको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले लामो समयको पर्खाइलाई चिर्दै दोमुखाको विकासमा नगरपालिका लागेको बताए । अघिल्लो आवमा दोमुखा जाने सडक कालोपत्रे भइसकेको छ । चालू वर्षमा गेट र दोमुखादेखि पिकनिक स्पोट हुँदै स्वीमिङ पूलसम्म जाने ७३० मिटर सडकमा पनि इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको नगरप्रमुख थोप्राले जानकारी दिए ।
नवनिर्मित गेटको माथि पशुपतिनाथ, स्वयम्भु र जनजातिहरुको सिलाम साक्माको आकृति राखिने र यसलाई बहुसांस्कृतिक हिसाबले विकास गर्न लागेको उनको भनाई थियो ।
नगरपालिकाले दोमुखाको पूर्वाधार विकासका लागि ठूलो बजेट लगाउँदै चालू आवमा करिब एक करोड लगानी गरिने छ । सडकमा बत्ती, रात्रीकालिन पर्यटकलाई मनोरञ्जन गर्ने सक्ने गरी लाइटहरु जडान गर्ने समेत नगरपालिकाको योजना रहेको नगरप्रमुख थोप्राले बताए ।
दोमुखाको विकासलाई अघि बढाउन प्रदेशस्तरीय लगानी सम्मेलनमा डिपिआरसहित गुरु योजनाको प्रोजेक्ट अघि बढाइएको नगरप्रमुख थोप्राले बताए । उनले भने, दोमुखामा २०औं करोड लगानी भित्राउने योजनामा हामी छौं ।
दोमुखा प्रवेशद्वारमा निर्मित दुईमुखे गेटमा चाइनिज इँटा र माथिल्लो भागमा टायल्स र मार्वल प्रयोग गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । हाल निर्माण भएको गेट र सडक भ्याट र कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रुपैयाँमा भिमेश्वर कन्स्ट्रक्सन प्रालिले काम गरेको इन्जिनियर उत्तम बरालले जानकारी दिए । सो सडक ६ मिटर चौडाईको रहेको छ भने ६० एमएम मोटोे पेवर्स लगाइएको छ ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले दोमुखा शिवसताक्षी नगरकै गहना भएको बताइन् । दोमुखा, सतासीधाम र चिल्लागढका कारण नै देशभर शिवसताक्षी नगर भनेर चिनाउने छ । ‘देशभरमा तीन–तीन ओटा पर्यटकीय तथा धार्मिक क्षेत्र भएको नगर कमै होलान् । यो नगरले त्यो सौभाग्य पाएको छ । यसको विकासका लागि हामी सबै जनप्रतिनिधिहरु एक भएर लागेका छौं’ उनको भनाई थियो ।
शिवसताक्षी नगरपालिकाका वडा नं. १० वडाध्यक्ष हर्कबहादुर सिगुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङ्फेले शाब्दिक स्वागत गरेकी थिइन् भने र लेखा शाखाका प्रमुख प्रकाश योङहाङ्गले कार्यक्रमको सञ्चालन गरेका थिए ।