२०८१ पौष ११, बिहिवार , ११:११:३१ बजे

Sajhamanch
'

पर्दाभित्रै र बाहिरबाट सरकार फेर्ने चलखेल नहोस्, स्थिरताका लागि यो भन्दा बलियो सरकार बन्दैन : अर्थमन्त्री पौडेल

शनिवार, मंसिर १५, २०८१

रूपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको गठबन्धन पूरा समय चल्ने भएकोले पर्दा पछाडि बसेर सरकार फेर्ने कोशिस नगर्न चेतावनी दिएका छन् ।

रूपन्देही उद्योग संघको ४७ औं स्थापना दिवस कार्यक्रममा शनिबार बुटवलमा आयोजित कार्यक्रममा पौडेलले उनले यो सरकार फेर्ने असंभव भ्रममा नलाग्न र भ्रमको खेतीमा नरमाउन आग्रह गरेका थिए । उनले कसले र कसरी सरकार फेर्ने चर्चा चलाएको भने खुलाएनन् ।

‘नीति र नेतृत्वमा स्थिरताका लागि यो सरकार बनेको हो, पूर्ण काल चल्छ, एमालेकांग्रेस यसमा प्रतिवद्व छन्, यो सरकार पनि परिवर्तन हुन्छ र गर्न सकिन्छ भन्नेमा भ्रममा कोही नपरे हुन्छ यो चेतावनीका साथ भन्न चाहन्छु, उनले भने, यो समीकरण आउने चुनावसम्म जान्छ, पर्दाभित्रै र बाहिरबाट सरकार फेर्ने चलखेल नगरे हुन्छ, अस्थिरताबाट लाभ लिनेहरूलाई सबैले चिनिसकेका छन् ।’

उपप्रधानमन्त्री पौडेलले अहिलेको प्रतिनिधि सभाबाट बन्ने सबैभन्दा बलियो सरकार यही रहेको स्थिरताको लागि अन्य विकल्प नभएको बताए । उनले देशको अर्थतन्त्र सुधार गर्न सरकारले विशेष अभियान थालेको केही सुधार पनि आइसकेको जनाए ।

अर्थमन्त्री पौडेलले अस्थिर सरकारकै कारण देशमा आर्थिक समस्या बढ्दै गएको प्रष्ट पारे । उनले निजी क्षेत्रको सहकार्यमा सरकार अघि बढ्ने बताउँदै उद्योग क्षेत्रका समाधान गर्नेगरी सरकार अघि बढेको बताए । ‘यो सरकार बन्दा २ खर्बले ऋणात्मक र अर्बौंको दायित्व बजेटले बोकेको थियो,धेरै समस्याको चाङ हटाउँदै गएको छ,पूँजी बजारमा उत्साह छाएको छ’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले औधोगिक नीति र स्थिर सरकार नहुँदा समस्या परिरहेको बताउँदै सरकारले विशेष ध्यान दिन आग्रह गरे ।

लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीले देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रको साथ चाहिने बताउँदै उत्पादनमुखी र निर्यातमुखी उत्पादनमा विशेष ध्यान दिन सुझाव राखे ।

रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अहिले सबै उद्योगले ४० प्रतिशत पनि उत्पादन गर्न नसकेकाले त्यसको अवस्था सुधार्न कार्यान्वयनमुखी उद्योग नीति ल्याउन सरकारलाई आग्रह गरेका थिए ।

कार्यक्रममा ४७ हजार राशीको उत्कृष्ट औधोगिक पत्रकारिता पुरस्कार पत्रकार दिनेश पाण्डेलाई तथा विभिन्न क्षेत्रमा उत्कृष्ट रहेका उद्योगलाई सम्मान प्रदान गरिएको थियो ।

सम्बन्धित खबर