काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजुराणा देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताइन् ।
चीन भ्रमणबाट फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले बीआरआईमा सन् २०१७ मा एमओयू भएको स्मरण गर्दै सोही सेरोफेरोमा रहेर सम्झौताहरू हुने बताएकी हुन् ।
‘मुख्यतः बीआरआईमा इन्टरकनेक्टिभिटीमा रहेर विकासका कामहरू अगाडि बढ्ने र इन्टरकनेक्टिभिटीका मोडेल कस्ता कस्ता हुने त्यसमा दुई दलको बिचमा सहमति भएको हो,’ उनले भनिन्, ‘तपाईँहरूलाई थाहै छ नेपाली काँग्रेसले सरकारमा सहभागी हुनुभन्दा अगाडि नै बीआरआई अन्तर्गत ऋण नलिँदा नै राम्रो हुन्छ भनेको यो कुरा सरकारका साझेदारलाई पनि थाह छ ।’
चीनका जारी रहेका पुराना आयोजना र नयाँ आयोजनाहरूलाई कसरी बीआरआई अन्तर्गत अगाडि बढाउने त्यसमा छलफल भएको बताउँदै उनले दोस्रो रिङरोड, हिल्सा सिमिकोट सडक, अरनिको राजमार्गलाई बीआरआई अन्तर्गत राखेर बनाउने चीनले पहिला नै घोषणा गरिसकेको बताइन् ।
टोखा छहरे सुरुङ मार्ग, सीमा नाकालगायतका आयोजना नयाँ ढङ्गले अगाडि बढाउने बताउँदै उनले यी सबै विषयमा दुई दलको बिचमा सहमति भइसकेको बताइन् ।
नेपाली राजनीतिको इतिहासमा पहिलो पटक यसरी दलहरू कुनै विषयमा बसेर अक्षर अक्षर केलाएर छलफल गरि सहमति गरेको उनले बताइन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु मङ्सिर १३ गते चीन भ्रमणमा गएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा अोलीको मङ्सिर १७ गतेदेखि हुन लागेको चीन भ्रमणको तयारी र एजेन्डाको विषयमा छलफल गर्न उनी चीन पुगेकी थिइन् ।
चीनमा हिजो त्यहाँका विदेश मन्त्री यीलाई भेटेर छलफल गरेकी थिइन् । उनीहरू बिच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबिचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री आरजुले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइन् ।
वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री यीमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री आरजुले बधाई दिएका थिइन् ।
मन्त्री आरजुले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिएकी थिइन् ।
त्यसैगरी नेपाल–चीनबिचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्बाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताइन् ।
पछिल्ला समयमा नेपाल र चीन बिच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उनले व्यक्त गरेकी थिइन् ।
सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबिच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको मन्त्री आरजुले बताइन् ।