काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका झापाका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।
गैरकानूनी रुपमा प्रसाईलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज बुधबार उक्त रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।
निराजनले गृहमन्त्रालय समेतलाई विपक्षी बनाएर दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।
दुर्गाका छोरा निराजन प्रसाईले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले प्रसाईमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।