२०८१ मंसिर १४, शुक्रवार , ०१:२३:४६ बजे

Sajhamanch
'

झापाको कमल गाउँपालिकामा ७९९ जना अपाङ्गता भएका व्यक्तिहरुले पाए परिचय पत्र

मङ्गलवार, मंसिर ११, २०८१
  • उमानाथ भण्डारी

कमल । कमल गाउँपालिकामा सञ्चालित शिविरबाट १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको छ ।

कमल गाउँपालिकामा मंसिर ४ गतेदेखि सुरु भएको अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर हिजो मंसिर १० गतेसम्म चलेको थियो । उक्त शिविरमा सहभागी भएकामध्ये १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरबाट रातो कार्ड ११, निलो कार्ड ६७, पहेँलो कार्ड ४९ र सेतो कार्ड १५ जनालाई गरी १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिइन् ।

२०७८ को जनगणना अनुसार कमल गाउँपालिकामा १ हजार १३२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क सार्वजनिक भएपनि शिविर सञ्चलन गर्नुभन्दा पहिले गरिएको सर्वेक्षण अनुसार यहाँ ८९२ जना अपाङ्गता भएका व्यक्तिहरु फेला परेका थिए ।

जसमध्ये शिविर सञ्चाल हुनुभन्दा अगाडि नियमितरुपमा गाउँपालिकाबाट वितरण गरिएको परिचय पत्रमा रातो कार्ड पुरुष ११५ र महिला ७१ जना गरी १८६ जनाले लिएका थिए । यस्तै, निलो कार्ड लिएका पुरुष १६२ र महिला १०९ जना गरी २७१ जना, पहेंलो कार्ड लिने पुरुष ९४ र महिला ५६ गरी १५० जना र सोतो कार्ड लिने पुरुष २५ जना र महिला २५ जम्मा गरी ५० जना थिए ।

सो अनुसार यसअघि नै ६५७ जनालाई परिचय पत्र वितरण गरिएको र शिविरमा थप १४२ ले परिचयपत्र लिए पछि अब ७९९ जनालाई अपाङ्गताको परिचय पत्र वितरण भएकोे गाउँपालिकाका उपाध्यक्ष तथा सो कार्यक्रमका संयोजक प्रमिला न्यौपाने तिवारीले जानकारी दिइन् ।

शिविरमा पहिचान भएका नागरिकहरुलाई आवश्यक पर्ने सहायक सामग्री क्रमशः प्रदान गर्दै लगिने गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले बताइन् ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कमल गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहकार्यमा कमल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन भएको हो ।