२०८१ मंसिर १०, सोमवार , ११:४१:४१ बजे

Sajhamanch
'

तुलसी घिमिरेको ‘पहाड’को राइट सेभेन सिज र ब्यांकटेसले किने, माघ ३ देखि छायांकन

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । तुलसी घिमिरेले निर्देशन र निर्माण गर्न लागेको फिल्म ‘पहाड’को वितरण अधिकार बिक्री भएको छ । यो सोसल ड्रामा फिल्मको नेपाल अधिकार ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशको अधिकार सेभेन सिजले किनेको छ ।

वितरकसँगै छायांकन मिति समेत टुंगो लागेको निर्देशक घिमिरेले जानकारी दिए । उनका अनुसार माघ ३ गतेदेखि छायांकन सुरु हुनेछ । काठमाडौं, गोरखा र भारतको मुम्बईमा छायांकन हुनेछ ।कलाकारको लाइनअपले पनि पूर्णता पाएको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, वर्षा राउत, सुनिल थापा, रविन्द्रसिंह बानियाँ र अरुण क्षेत्रीको अभिनय हुनेछ ।

यसअघि बाँसुरी, कुसुमे रुमाल, लाहुरे, अन्याय, कोसेली, चिनो, दुई थोपा आँसु, देउता, दक्षिणा, मितज्यू, रहर, बलिदान, दर्पणछाया, साइत, लहना, दुई किनारा, स्वर्ग, दर्पणछाया २ उनका हिट फिल्म हुन् ।‘पहाड’लाई पनि घिमिरेले आफ्नो स्वप्न प्रोजेक्ट बताइरहेका छन् । यो फिल्मले युवा शक्ति विदेशिंदा पहाड रित्तिएको कथा भन्छ । ‘अहिलेको सरकारले युवालाई देशमै बस भन्छ । तर समाजले विदेश गएर पैसा कमाऊ भन्छ’ कथावस्तुबारे निर्देशक घिमिरेले भने, ‘बाहिर गएर काम गर्नेलाई सफल भनिन्छ । बाहिरबाट फर्किएका पनि हतास देखिन्छन् । खासमा देशमा बसेर गर्ने के? यो कथालाई समय सुहाउँदो तरिकाले प्रस्तुत गर्न लागेका हौं ।’

यो फिल्मलाई भाग्यरत्न फिल्म्सको ब्यानरमा तुलसीले निर्माण तथा निर्देशन गर्न लागेका हुन् । बजेट साढे ३ करोड रुपैयाँ जनाइएको छ । फिल्मलाई जेठमा प्रदर्शनको तयारी गरिएको वितरक मनोज राठीले जनाए । ‘छायांकनपछि मात्र मिति कन्फर्म गर्ने तयारी छ’ राठीले भने, ‘यसलाई नेपाली फिल्मको पछिल्लो भव्य फिल्मको रुपमा निर्माण गर्दैछौं ।’

सम्बन्धित खबर