२०८१ मंसिर ७, शुक्रवार , ०६:५८:३१ बजे

Sajhamanch
'

नकलबन्दा टी इस्टेटमा मेचीनगरको डोजर, सरकारी जग्गा हडप्नेलाई नछाड्ने नगरप्रमुख बुढाथोकीको उद्घोष

बिहिवार, मंसिर ६, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गर्ने नकलबन्दा टी इस्टेट माथि डोजर चलाएको छ ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोख्रेल उप्रेती, विभिन्न वडाका वडाध्यक्षहरुसहितले आज बिहीबार सरकारको स्वामित्वमा रहेको तर नकलबन्दा टी–स्टेटले वर्षौंदेखि कब्जा गरेको १० बिगाहाभन्दा बढी जग्गा नगरपालिकाको मातहत ल्याएको हो ।

सरकारी स्वामित्वमा रहेको भए तापनि वर्षौदेखि निजी कम्पनी नकलबन्दा टी–स्टेटले उक्त जग्गा ओगटी रहेको पाइए पछि बारम्बार ताकेता गर्दा पनि त्यसलाई अटेर गरे पछि नगरपालिकाले एक्सन लिएको जनाइएको छ ।

सरकारी स्वामित्वको १० बिगाह ५ कठ्ठा ७ धुर जग्गा नगरपालिकाले फिर्ता लिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । नकलबन्दा टी–स्टेटलाई नगरपालिकाबाट विभिन्न मितिमा सरकारी जग्गा खाली गरिदिन पत्र पठाइएकोमा त्यसलाई टी–स्टेट व्यवस्थापनले बेवास्ता गरे पछि एक्सनमा उत्रनु परेको उनको भनाई छ ।

साविक नकलबन्दा ७ का कित्ता नम्बरहरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, २७८, ३७९, ३८०, ३८२, ३८३, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१, २३२, ३८४, ३८१ र ३९१ का जग्गाहरु मालपोत कार्यलय झापा भद्रपुरको मिति २०४८।६।२५ छुट जग्गा दर्ताको निर्णय पर्चाबाट दिनेशप्रसाद कानुको नाममा दर्ता भएका र दर्तावाल दिनेशप्रसाद कानुले उक्त जग्गाहरु र न ५७८ क मिति २०५५।६।११ को राजिनामबाट नकलबन्दा टी–स्टेटलाई बिक्री गरी नकलबन्दा टी–स्टेटको नाममा कायम हुन गएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंङ्‌्गाल काठमाडौको च. न. ७९० मिति २०६६।८।२२ को निर्णय कार्यान्वयन गर्ने सम्बन्धि पत्र तथा सोही पत्र बमोजिम मालपोत कार्यलय भद्रपुरको मिति २०६६।९।६ को सदर टिप्पणीले नकलबन्दा टी स्टेटको नाममा कायम माथि उल्लेखित जग्गा बदर गरी नेपाल सरकारको नाममा कायम रहेको व्यहोरा मालपोत कार्यालय झापाले नगरपालिकालाई जानकारी गराएको र सोही बमोजिम स्थानीय सरकारको तर्फबाट राज्यको सम्पत्ति संरक्षण सुरू गरिएको उनको भनाइ छ ।

अब सो जग्गालाई आवश्यक छलफल गरी सदुपयोग गर्ने गरी नगरपालिका लाग्ने उनले बताए । स्थानीयबासीले पनि नगरपालिकाको सो कदम स्वागतयोग्य रहेको बताएका छन् ।

सरकारी जग्गा हडप्ने कार्य गलत भएको स्थानीय रामबहादुर राई बताउँछन् । उनले सो जग्गाको स्थानीय सरकारले आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र सदुपयोग गर्नुपर्ने बताए ।

सरकारी जग्गा सरकारी तबरबाट उपभोग गरिएको भए धेरै राम्रो हुनेथियो । तर यसरी प्राइभेट कम्पनीले जग्गा हडप्दा समाज र देशलाई नै घाट भइरहेको अर्का स्थानीय रविन राउत बताउँछन् ।

सो क्षेत्रका समग्र स्थानीयले नगरपालिकाको सो कदम प्रशंसनीय रहेको बताएका छन् । साथै अन्य क्षेत्रमा भएका यस्तै सरकारी जग्गा पनि चाँडैं नगरपालिकाले सरकारको मातहतमा ल्याउन आग्रह गरे ।

सम्बन्धित खबर