अर्जुनधारा । झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित कैंदले प्राकृतिक रंंगशालामा जारी चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा शिवसताक्षी नगरपालिका प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो ।
शिवसताक्षीको जीतमा मिलन राई नायक बने । उनले टिमका लागि २ गोल गरे । खेलको २६औं मिनेटमा डी- एरियामा बिर्तामोडका गोलरक्षक अविषेक चौधरीले फल्ड गरेपछि पाएको पेनाल्टी प्रहारलाई गोल पोष्ट भित्रबाट जाली चुमाउदै राईले टिमलाई पहिलो अग्रता दिलाएका थिए । उनले खेलको ६१औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
२–० गोल अन्तरलेपछि परेको बिर्तामोडका लागि ६३औं मिनेटमा श्याम मुर्मुले एक गोल गर्दै २–१ गोलको अन्तर बनाए । सुरुवातबाट नै आक्रमक बनेको खेलमा बिर्तामोडले गोल गर्ने थुर्पै अवसर पाए पनि स्कोर गर्न नसक्दा पराजय भोग्यो ।
शिवसताक्षीलाई फाइनलमा पुर्याउन २ गोल गरेका मिलन राई खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए ।
उनलाई अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन), प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा) लगायतले पुरस्कार प्रदान गरे ।
शिवसताक्षीले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासंग मंसिर ५ गते फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।
गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका बिच खेल हुने छ ।