२०८२ वैशाख २८, आइतवार , ०२:४१:५१ बजे

Sajhamanch
'

भद्रपुरका दहेरी परिवारलाई तरूण दलको घर उपहार

आइतवार, कार्तिक २५, २०८१

भद्रपुर । नेपाल तरूण दलको नेतृत्वमा भद्रपुर ४ ठण्डाबस्तीमा विपन्न तथा सिमान्तकृत दहेरी परिवारले एउटा नयाँ घर प्राप्त गरेका छन् ।

नेपाल तरूण दल भद्रपुर ५ को पहल तथा ३ नम्बर क्षेत्रीय समिति र केन्द्रीय समिति सदस्य श्याम सिटौलाको समन्वयमा २ कोठे पक्की घर निर्माण गरिएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण घर निर्माण गर्न नसकेका भद्रपुर ५ का मेहरा दहेरी परिवार कच्ची झुपडीमा दिन कटाइ रहेका थिए । सो परिवारलाई भद्रपुर ८ का समाजसेवी धनजुजु श्रेष्ठले ४ धुर जग्गा निःशुल्क प्रदान गरेपछि भद्रपुर ४ ठण्डाबस्तीमा तरूण दलले घर निर्माण गरिदिएको हो ।

सिमान्तकृत समुदायका मेहराको अवस्था बुझेका तरूण नेपाल दल भद्रपुर ५ का सभापति इन्द्र नेपाल तथा ३ नम्बर क्षेत्रीय समितिका सभापति खड्गबहादुर लिम्बूको पहलमा केन्द्रीय समिति सदस्य श्याम सिटौलाको समन्वयमा नेपाली काँग्रेस निकट उद्योगी व्यापारी तथा दातासित सहयोग जुटाएर जस्तापाताको छानो भएको एकतले पक्की घर निर्माण गरिएको हो ।

घर निर्माण बारे जानकारी दिँदै केन्द्रीय सदस्य सिटौलाले सबैको घर बनाउन नसकिए पनि अति विपन्न र सिमान्तकृत वर्गको बास जुटाउन तरूण दलले सम्पन्न गरेको यस सन्देशमूलक कार्यले स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई सर्वहारा वर्गको आवास तथा उन्नतिका लागि विशेष योजना ल्याउन सकारात्मक दवाब हुने विश्वास व्यक्त गरे ।

घर हस्तान्तरण कार्यक्रममा भद्रपुर नगरप्रमुख गाणेश पोखरेल, वडाध्यक्षहरू रामबहादुर कँडेल, रतिया राजवंशी, बन्धु कार्की र गौरव सुब्बा मनोज, महासमिति सदस्य टिकाराज ढकाल, लता कार्की, विजय रिजाल, तरूण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती, श्याम सिटौला, क्षेत्रीय सभापति खड्गबहादुर लिम्बू तथा तरूण दल भद्रपुर ५ का सभापति इन्द्र नेपाल लगायत नेपाली काँग्रेस तथा तरूणका वडा सभापतिहरू लगायतले दहेरी परिवारलाई नयाँ घर हस्तान्तरण गरेका थिए ।

इन्द्र नेपालको सभापतित्व तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ५ का वडाध्यक्ष बन्धु कार्की, उद्योगी टिकाराज ढकाल, तरूण दलका झापा ३ नम्वर क्षेत्रीय सभापति खड्गबहादुर लिम्बू लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

सम्बन्धित खबर